पेट्रोलियम पदार्थको राजनीति त अलि अलि नेपालीले बुझेका हुन् । किसानले मलको राजनीति पनि बुझेकै हुन् । अब शुरु भएको छ हरिया वनस्पति, साग पात, रुख वृक्षहरुको पनि राजनीति । सूर्यको किरण नपाई फूल विरुवाहरुले क्लोरोफिल प्रक्रिया पूरा गर्न सक्दैनन् र यो प्रक्रिया नभई तिनले आफ्ना खाना बनाउन सक्दैनन् ।
भनौँ सूर्य र रुखको अन्तर सम्बन्ध छ र त सबैतिरबाट विरोध गरे जस्तो गर्ने फ्याट्ट एमसिसी छिराउने, सूर्यले रुखसँग हातेमालो गर्ने, अनि पछि चुनाव आयोगले हरियो रंगमा राजनीति गर्नु हुन्न भनेर भन्ने ।
राजनीति र प्रशासन विषयक मास्टर्स गर्दा विश्व विद्यालयमा प्रा.डा रत्नकमल वैद्य र प्रा.डा पुरुषोत्तम सुवेदी भन्थे, ‘यस्तो प्रक्रियालाई जेरिमाइण्डरिङ्’ भनिन्छ, अर्थात् जिलेबी जस्तै घुमेको र जोल्ठिएको हुन्छ विषय कसैले बुझ्नै सक्तैनन् । हो नीतिकारले त यसअघि नै भनेका थिए, राजनीतिले देवतालाई पनि झुक्याउँछ ।
प्रसंग हरियो रंग, निर्वाचन आयोगले मतपत्रमा छाप हान्दा हरियो मसी प्रयोग गर्ने भनेछ । अगुल्टोले हानेको कुन्नि के विजुलमै तर्सन्छ रे । आकाशबाट सूर्य कुर्लन थालिहाल्यो, आपैmँले त्यहाँ पठाएका हिरोले आफ्नै विरुद्ध त किन सिनेमा खेल्थे होला र ! विगतको सशस्त्र युद्धमा पनि देशमा रंग राजनीति भएको थियो । त्यतिबेला रातो रंग भनौँ रगतले देश चुर्लुम्म होलीमा डुबेको थियो । फागुको जस्तो नक्कली रंग थिएन, सक्कली रगतको होली वर्षौँ खेलिएको सबैलाई याद छ ।
रंगपात्रहरुलाई बालकोटका ज्योतिषी बाले वर्षौंसम्म साथमा लिनु भयो । हरियो रुखले पनि छहारी दिएकै हो, पहिले कुखुराले ओथार छोपे झैं छोप्ने, अण्डा पारेपछि, चल्ला हुर्केपछि रुखतिर टाँस्सिन जाँदा तिनैको चिना हेर्र्दै भन्न थाल्नु भयो तपाईंको त चिनामै सकिने पो लेखिएको रहेछ । रुखमूली यता भन्नुहुन्छ गठबन्धनलाई चिढाउने गरी केही नभन्नू है, उनीहरुको मन दुख्नु हुन्न नि आफ्ना कार्यकर्तालाई यति भनेन भने २३ सिट ल्याएर बालुवाटार बस्न कसरी नै सकिन्छ र ? बिचरा वर पिपल रुख दम्पती सहित बालकोटको बार्दलीलाई उर्बर बनाएको लोकतन्त्रले पहिले नै वचन दिइसकेको एमसिसी सहयोगमा धन्यवाद नदिइरहन पनि त कसरी सकिन्छ र ?
पन्ध्र सालमा बहुमत ल्याएको हरियो रुखले ४६ पछिको चुनावमा पनि बहुमत नै ल्याएको हो र त अहिले हात्तीको कानमा चमेरो आएर ओत लागे भन्नु परेको छ । अर्काको एजेण्डामा लुटुपुटु हुँदा पो २३ सिटमा बस्नु परेको त, नजाने चिनामा लेखेका ज्योतिषीहरुले ७ पल्ट बालुवाटार जाने त भनेकै छन् ।
मतदाताप्रति मरिहत्ते किन गर्नु पर्या छ र अझै २ पल्ट बाँकी नै छ । गणेशमान, विपी, कृष्णप्रसादको अदर्श बोकेर कसरी हुन्छ, अनि नयाँ पुस्ताका गगन आकाश पनि एमसिसी कै ताली बजाउन लागेकै हुन् । शुभाशीर्वाद मिलिहाल्छ, उत्तर रिसाए हँसिया हथौडाले साथ दिइहाल्छन्, किन डराउनु पर्या छ बेकारमा । देशमा चुनावी दौडाहामा लागेका सूर्य पोखरातिर उदाएर कड्किन थाले ।
सर्वोच्चमा गोरु ब्यायो रे, ब्याएन मात्रै बरु ५ वटा बाच्छा पनि पायो र त बाच्छा बचाउ अभियान शुरु भएको छ, महाअभियोगको प्रस्ताव दर्ता गराएर । पश्चिमतिरबाट सूर्य उदाउने त महाकाली सन्धिमै भनिएको हो अब त उदाउनै पर्यो नि, हेलिकप्टर लिएर ज्योतिषी बा दक्षिण लाग्नु भयो त्यहाँ पनि वीरगञ्जका मेयरसँग हातेमालो गरेर अरु भन्या त बालुवामा उम्रेका मुला हुन् जरै छैन भन्नु भयो । शुरुमा महाअभियोगको प्रस्तावलाई आफै माथिको प्रहार सम्झने तातो र रातो सूर्य, सिफारिश समितिमा आफै सामेल भयो पछि, यसैले विज्ञहरुले भनेका रहेछन्, राजनीति सरल रेखामा चल्दैन, बक्ररेखा भनेकै जेरिमाइण्डरिङ हो ।
सात सालदेखि बाह्र पन्ध सालसम्म सबै अर्थतन्त्र झण्डै ९५ प्रतिशतसम्म दक्षिण छिमेकीदेशसँग निर्भर भएकोमा ४६ सालसम्म पञ्चायतले २५ प्रतिशतमा घटाएको थियो बाटाघाटा, उद्योग कलकारखाना बढाएर र जम्माजम्मी विदेशी ऋण २९ अर्बमा सिमित राखेर । अहिले वार्षिक बजेटभन्दा बढी व्यापार घाटा र विदेशी ऋण अनि अर्थतन्त्र ९८ प्रतिशत पर निर्भर, उन्नत लोकतन्त्र, संघीयता र महँगो गणतन्त्रले दिएको उपहार अनि अहिले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्दाका क्षण, हरेक घर परिवारमा विदेश नपसेको मान्छे नभेटिने देश त्यसैले यहाँ फागुमा उत्साह छैन, रंग आउने उतैबाट हो दसैँमा खसी बोका, तिहारमा भाइमसला, माघे संक्रान्तिमा तरुल पिँडालु आएझैं हुनु पर्ने बसन्त उत्सव हो, नयाँ उमंग हो, तर युक्रेनबाट सोयाबिन तेल रोकिएपछि कसरी हुन्छ उत्साह यहाँ ?
राजनीतिले साहित्यिक भण्डार बढाएको छ, त्यसकारण सिर्जनाकरहरु त मख्ख छन् । कहिले गोरु व्याउँदा, कहिले राजनीतकर्मीहरुले ज्योतिषीले झैं हंसिया हथौडाको चिना हेरिदिँदा, देशमा विकास खर्च सुको नहुँदा पनि भ्यूटावरमामा सुनको जलप, प्रयोगमा नआए पनि ठडिएर उद्घाटनको हतारोमा परेको धरहरा र नआउने मेलम्ची, पानीजहाज र मोनो, मेट्रो रेल, ग्याँस पाइपलाइन, उनलाई धुँदाधुँदा सावुन पानी नै सकिएको, धर्म निरपेक्ष भनिरहँदा ठोरीमा नयाँ अयोध्या, सुशासन र समृद्धि, देशको कायापलट, हात्ती र चमेरोको कथा यी नयाँ शब्दावलीहरुले नेपाली शब्दकोषमा मिठासता आएको छ, वैशाख ३० लाई यसरी नै त हेर्ने हो ।
समग्रमा यहाँ नेतृत्वको इगो स्पष्ट हुन्छ, आफूले गरेको सबै ठीक, अरुले गरेको सबै बेठीक । आफू लडाउने अरु होमिने, एमसिसीमा त्यही भयो, आफू चिल्ला कारमा, सुरक्षा सहित बाँकी बाहिर भुटिए सडकमा मान्छे, कसैले पानीको फोहोरा पाए, गोली पनि, अश्रु ग्याँस, सटरहरु ध्वस्त, अहिले पनि दर्जनौँ साना दलहरु ठूला दलको सिण्डिकेट भन्दैछन् । तिनले आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाएनन् रे, अघिल्लो संसदीय चुनावमा समानुपातिकमा ३ प्रतिशत बा प्रत्यक्षमा १ सिट नल्याउनेले राष्ट्रिय दलको मान्यता पाएनन् रे र चुनाव चिह्नको प्रयोग गर्न पाएनन् रे, ती आन्दोलित छन् सडकमा ।
इगो पनि अचम्मको हुँदो रहेछ हेरौँ न रसिया र युक्रेनकै । युद्ध जारी छ, युएनओ केही गर्न, भन्न नसक्ने । लिग् अफ नेशनले काम नगर्दा दोस्रो विश्व युद्धपछि यो स्थापित भयो तर टुलुटुली हेरेर मात्र बस्ने । तेल, ग्याँसको नाकाबन्दी छ, भूगोलको समस्या भन्दै इगो लिएर दुबै लडिरहेका छन्, यो युद्धमा मर्ने सामान्य नागरिक हुन्, सेना हुन्, प्रहरी हुन् ।
न पुटिन मर्छन्, न जेलेन्स्की । तीमध्ये एकले सरी भनिदिए त हुन्थ्यो नि, तर को भन्दा को कम । नेटोको उपस्थिति आप्mनो सिमानामा हेर्न नचाहने रसिया अनि नेटो समर्थितहरु युक्रेन छोड्न नचाहने कस्तो द्धन्द । रसियाको ठूलो माग त थिएन नि, यसो गर्दिन भनिदिए ऊ एक्लै लडि त रहन्नथ्यो होला नि, आफू भन्दा कैयन गुणा ठूलासँग पौँठा जोरी खेल्न युक्रेन नछोड्ने । जुंघाको लडाईमा विश्वकै धेरै देशहरु प्रभावित भएका छन् अहिले यही निहुँमा तेस्रो विश्वयुद्ध भइदियो भने अहिलेको परमाणु, जैविक हतियारको प्रयोग भइदियो भने ? के हुन्छ संसार ।
स्वाभिमानको पाठ यस्तै गर्न सिकाएको हो र ? के मान्छे बिते पछि त्यसको सट्टा रोबर्ट बनाउने ? धन, माल, भूमि, सरसामग्री त अर्को बनाउन, कमाउन सकिन्छ नि मान्छेप्रतिको यत्रो दूव्र्यवहार किन ? भर्खरै भारतीय क्षेप्यास्त्र पाकिस्तानतिर घुम्न गएछ, हत्तपत्त भारतले माफी मागिहालेछ नत्र यी दुईको संकटापन्न अवस्था त सबैले बुझेकै छन् ।
अमेरिका र चीन, भारत र चीन, रसिया र युक्रेन भन्दा त कम छैनन् यिनीहरु पनि । युक्रेनलाई थाहा छ रसियासँग लड्न सकिन्न भनेर, सोभियत रुसबाटै अलग भएको देश हो त्यो तीन दशकअघि, तैपनि लड्न छोड्दैन । आफू आफू लड्दा अरुको हालत के हुन्छ भनेर दुबैले परिणाम हेर्न सकेनन् ।
एउट प्रसंग दूरदर्शिताको, द्धापर युगका बीरबल थिए श्रीकृष्ण । तर जरासन्धलाई मार्न भीमसेनले मात्र सक्थे, श्रीकृष्णले जरासन्धलाई हान्नु मार्नु हुन्नथ्यो, उनलाई थाहा थियो आफूले उसलाई जित्न नसक्ने । नजितिने युद्धको हाँक दिएर जग हसाँउने अनि व्यर्थमा आफ्ना आफन्त मार्नु हुन्न भन्ने सोच लिए श्रीकृष्णले । र उनी जरासन्धको आक्रमणबाट बच्न भन्दै भागे जस्तो गरे ।
कृष्णलाई भगौडा भनियो, रणछोड भनियो, नामर्द भनियो अनेकौँ उपनाम दिइयो उनलाई, यहाँसम्म कि समुद्रभित्र लुक्न पुगे उनी, ढोका अर्थात् द्धार पत्ता नलाग्ने भनौँ द्धार कहाँँ ? भन्ने प्रश्नमा द्धारका भन्ने नयाँ शहर बसालेर बसे उनी, अहिले पनि कृष्णको द्धारिका खोज्दै भक्तहरु जान्छन् तीर्थको रुपमा, धामको रुपमा । भगौडा कता छ भन्दै जरासन्धको सबैले बाहिरियो, गुप्तरुपमा खोज्नै परेन, एक एक गर्दै सिद्ध्याउन सफल भए श्रीकृष्ण ।
भीमसेनसँग जरासन्धको युद्ध भयो । उनको हतियारले जरासन्धको शरिर दुई टक्रा हुन्थ्यो तर आकाशभरि घुमेर आएर अग टाँसिन्थ्यो, जरासन्ध मर्दैनथ्यो । अति भएपछि कृष्णले भीमसेनलाई इसारा गरे । भीमसेनले देख्ने गरी रुखबाट एउटा पात टिपे, पातलाई दुई फ्याक हुने गरी तोडे, दाहिने हातको टुक्रा देब्रेतिर फाले, देब्रे हातको टुक्रा दाहिनेतिर फाले, भीमसेनले इसारा बुझे । जरासन्धको आधा अंग दायाँ बायाँ सिधा सिधा नफाली उल्टो उल्टो हुने गरी फाले ।
अंग आकाशतिरबाट फर्केर आई जोडिन त खोज्यो तर सुल्टो उल्टो भएकाले जरासन्ध अब बचेन, ढल्यो भुइँमा र मारियो, त्यो थियो कूटनीति, जरासन्धकी आमाले दुई अंग कतै भेटेर जोडजाड गरी शरिर बनाएर लालन पालन गरेकी थिइन्, तैपनि त्यो धेरै बलियो थियो, कृष्णले त्यो रहस्य बुझेका थिए, भीमसेनलाई थाहा थिएन । आम सर्वसाधारण एमसिसीमा त्यसै गरी झुक्किए ।
पहिले त्यही विरोधको पाठ सिकाइएको थियो, त्यही बुझियो तर के थाहा सवा अर्ब पैसा त भ्रमण आतेजातेमै खर्चिसक्या छ रे । युक्रेन जस्तै चीनको कोपभाजनमा देश नपरे त के हुन्थ्यो र अहिले गाउँ गाउँका चर्चहरुमा रंगिन विदेशी साधुहरु बस्ने अरुलाई भेट नदिने भन्ने गरिएको छ रे ।
त्यस्तै बुट बजार्दै विदेशीहरु आएर उत्तरतिरको आँखामा छारो हाल्न थाले भने मकै पिन्दा घुन पनि पिँधे झैं नेपालीहरु पिधिएलान् कि भन्ने चिन्ता हो । रुखका प्रतीकले त नेपालीहरुले अब भटाभट एमसिसीमा टेण्डर विट् गर्न निम्तो नै गरिसकेका छन्, कार्यरुपमा आउँदा भाँजो हाल्लान् भन्ने डरले पहिले नै यसो भनिएको हुन सक्छ । सबै विषयमा रंगिएको राजनीति अब हरिया सागपातमा पनि रंगिन थालेको छ, यसैमा दुःख लाग्छ ।
अहिले लाज छोप्ने १२ बुँदे टालो भिरिएको छ, पहिले दिल्लीको १२ बुँदले उर्वर बनाएको हो नेतृत्वलाई र त चुच्चे नक्सामा बोल्नै सकिएन, सडक त बन्यो बन्यो अहिले महाकालीमा तटबन्ध निर्माण हुँदैछ । हुम्लातिर पनि सिमा समस्या छ भन्न थालियो कन्ट्रा ब्यालेन्सका लागि, खम्पा विद्रोहीताका सात सम्ुद्र पारिबाट सहयोग आएकै हो । अहिले एमसिसी लिएर गाउँ जाँदा ढुँगा हान्ने डर छ ।
उत्तर सिमानामा ६ महिना हिउँले रजगज् गर्छ बाँकी ६ महिनामा सरकारी उपस्थिति अति न्यून छ । दक्षिणतिरको सिमानामा ठूलै समस्या छ, त्यो विवाद सुगौली सन्धिदेखि नै हो र त तुइन काण्डमा चूप, घरैमा पसेर गोली हान्दा पनि चूप, आइपिएस रणनीतिमा नेपाली मैदान युद्धका लागि खुल्ला भइदिँदा पनि चूप रहनु पर्ने हो कि असंलग्न परराष्ट्र नीतिलाई छोड्दा भन्ने मात्र चिन्ता हो, कसले कसरी बुझ्ने त अब ?