• मंसिर ९ २०८१, आईतवार

जनप्रतिनिधिमाथि कानुनी अंकुश : राजीनामा दिए मात्रै चुनावका लागि उम्मेदवार बन्न पाउने

चैत्र ३ २०७८, बिहीबार

काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ । सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको हो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आचारसंहिता कानुन मन्त्रालयबाट सम्पादन भएर आएपछि राजपत्रमा प्रकाशनका लागि बुधबार साँझ पठाएको बताए ।

स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामा यो प्रावधान राखिएको आयोगले जनाएको छ ।

ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ ।

जनप्रतिनिधिले पारिश्रमिक नलिए पनि सुविधा लिइरहेका हुन्छन् । उनीहरूले निर्वाचनमा भाग लिनुअघि राजीनामा नदिए उम्मेदवार बन्न रोक लगाउने प्रावधान आचारसंहितामा छ ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको निकाय, स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचन वा मनोनीत पदाधिकारीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ आचारसंहितामा उल्लेख छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।