• मंसिर ९ २०८१, आईतवार

चुनावको तयारीमा दल : आफ्नो पक्षमा मतदाता तान्न आरोप-प्रत्यारोप

चैत्र १ २०७८, मंगलवार

काठमाडौं । प्रमुख राजनीतिक दलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका साथै त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन् ।

अन्य पार्टीका नेता तथा कार्यकर्ता तान्न मात्र होइन, अर्को पार्टीलाई खराब प्रमाणित गरेर आफूलाई अब्बल साबित गर्न शीर्ष नेताहरू नै अग्रसर भएका छन् ।

जनताको मन जित्न निर्वाचन लक्षित नयाँ अजेन्डा, कार्यक्रम लिएर जनतामाझ जानु स्वाभाविक भए पनि दलका शीर्ष नेताहरूले एकअर्कालाई होच्याउँदै नयाँनयाँ कार्ड फाल्न थालेका छन् ।

आफ्नो प्रभाव देखाउन अन्य दलका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गराउने होड सुरु भएको छ । त्यही क्रममा एक दर्जन स्थानीय तहका प्रमुख र उपप्रमुखले नै निर्वाचन मिति घोषणापछि दल अदलबदल गरेका छन् । यो क्रमले तीन तहको निर्वाचन नसकिँदासम्म निरन्तरता पाउनेछ ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले आइतबारदेखि एकमहिने अभियान लिएर जिल्ला हुँदै टोलसम्म पुग्ने लक्ष्य बनाएको छ । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलप्रति कांग्रेसले केही नरम रणनीति बनाएको छ ।

तर प्रमुख प्रतिपक्षी एमालेप्रति कांग्रेस आक्रामक बन्ने देखिएको छ । २०७४ को आमनिर्वाचनपछि गठन भएको केपी ओली नेतृत्व सरकारको गलत कामको सूचना गाउँ तहसम्म पुर्‍याउने रणनीति उसले अख्तियार गरेको छ ।

एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेकपा नेतृत्व सरकारको समयमा व्यापक आर्थिक अनियमितता भएको आरोप कांग्रेसले लगाउँदै आएको छ ।

कांग्रेसले एमसिसी र त्यसलाई संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनकै दलहरूले सुरुमा राखेको असहमतिका साथै त्यसका विषयमा उठेका प्रश्नलाई चिर्ने जनाएको छ । गठबन्धनमै रहेका दलहरूले एमसिसीका विषयमा आमजनतामा भ्रम सिर्जना गरेको कांग्रेसको निचोड छ ।

आन्तरिक विवादका कारण केही समयअघि विभाजन भोगेको तथा संघदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिएको एमालेले संगठन विस्तारलाई तीव्र बनाएको छ ।

प्रदेश तहका प्रशिक्षण कार्यक्रम सकेर जिल्ला छिरेको एमालेले गत निर्वाचनमा आफूलाई अन्य प्रदेशको तुलनामा सबैभन्दा कमजोर पाएको मधेस प्रदेशलाई केन्द्रमा राखेको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आगामी निर्वाचनमा मिलेर अघि बढ्ने रणनीति बनाएको एमाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविरुद्ध आक्रामक देखिएको छ ।

नेकपा एकीकृत समाजवादीमा रहेका नेता तथा कार्यकर्तालाई एमालेमै फर्काउने उसको रणनीति छ । यो समाचार नागरिक दैनिकमा छ ।