• मंसिर ९ २०८१, आईतवार

माओवादी बैठक आजबाट सुरु, एमसीसी बारेमा व्यापक छलफल हुने

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आजदेखि सुरु हुने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा सो पार्टीको बैठक हुनेछ ।

अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो ।

यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो । वर्षमान नेपाल फर्किसकेका छन् । यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसिसी पनि पारित भइसकेको छ । माओवादीभित्र एमसिसी पारित गर्न नहुने मत पनि थियो ।

नेता नारायणकाजी श्रेष्ठ लगायतले केन्द्रीय कमिटी बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन् । श्रेष्ठले पार्टीले एमसीसी पास गर्नेमा सहभागी नहुने बताउँदै आएपनि पार्टी अध्यक्ष प्रचण्डै सकृयतामा एमसीसी पास भएपछि उनी रुष्ट छन् ।

एमसीसीपास गर्न नहुनेमा नारायाणकाजी समूहले अडान राख्दै आएको थियो । आजको बैठकमा यस विषयमा व्यापक छलफल हुने बताइएको छ ।