• मंसिर १२ २०८१, बुधबार

शक्तिराष्ट्रको चेपुवाका कारण जन्मेको थियो उत्तर कोरिया

फाल्गुन १४ २०७८, शनिबार

धेरै पहिलेदेखि सबैको चासोको विषय बनेको उत्तर कोरियाका बारेमा संसारभरका मिडियामा विभिन्न खाले धारणाहरु प्रचार हुँदै आएका छन् । खासगरी अमेरिका, युरोप लगायत पश्चिमा मुलुकहरुले यस्तो प्रचार गर्दै आएका छन् ।

लगभग ४ महिना अघि सोही उत्तर कोरियाले उसका विरोधी देशहरु र अन्तराष्ट्रिय जगतमा व्यापक त्रास उत्पन्न गराउने उद्धेश्यले जापान माथि परमाणु क्षेप्यास्त्र प्रहार गरेको हो । खासमा क्षेप्यास्त्र आक्रमण नभई त्रास उत्पन्न गराउने र शक्ति प्रर्दशन गराउने हिसाबले प्रहार गरिएको थियो ।

अमेरिकाले भने उत्तर कोरियालाई आतंकवादको कालोचसूचीमा राख्न चाहेको थियो । उता चीनले पनि उत्तर कोरियालाई कोइला निर्यातमा प्रतिबन्ध लगाएर उत्तर कोरियाको रवैयाको प्रतिरोध गरेको हो । किन हो त उत्तर कोरिया यति धेरै देशहरुको हेला सूचीमा परेको ?

यो कथा जापानमा शुरु हुन्छ, आउनुहोस् इतिहासको यो टुक्राबाट शुरु गरौं । २०० वर्षभन्दा बढि जापानलाई तोकुगावा शोकुनाते अर्थात् सैनिक शासकहरुले शासन गरेका थिए ।

औद्योगिक क्रान्तिपछि यूरोपियन देशहरुको भौतिक विकासको शुरुवात भएको हो । यससँगै एसियन देशहरुलाई यूरोपियन देशहरुले उपनिवेश बनाउने क्रम शुरु भयो । यस्ता उपनिवेशहरु सामन्तवादको राजनैतिक धारणा अनुरुप बनाउने गरिन्थ्यो ।

सन् १८५४ मा जापानमाथी विभिन्न यूरोपियन देशरुको दबाबले गर्दा एकपक्षीय रुपमा धेरै सन्धिहरु गरियो र आफ्नो समुन्द्री तटपनि खोल्न बाध्य पारियो । यसो गरिंदा स्वाभिमानी जापानीहरुले धेरै नै निरीह महसुस गर्न थाले । यसैकारणले होला त्यसको ठिक १३ वर्षपछि तोकुगावा शोकुनातेलाई जापानी जनताले विद्रोह गरेर हटाए ।

त्यसपछि राजा मेजीको शासन अनुरुप जापानको शासन व्यवस्था अघि बढ्न थाल्यो । मेजीले जापानलाई सामन्तवादको त्यो कडीबाट छुटाएर एउटा समृद्ध र पुँजीवादी देश बनाए ।

यसो गर्नका लागि उनले जापानको राजनैतिक र सामाजिक संरचनामा धेरै परिवर्तन गर्नुपरेको थियो । त्यो समयमा कोरिया एउटा सम्पूर्ण कोरिया देशका रुपमा थियो र कोरिया राजनैतिक तरलताको दौडबाट गुज्रिरहेको थियो ।

कोरियाको त्यो कमजोरीमा यूरोपियन शक्ति केन्द्रहरुले केही फाईदा लिनु अगाडि नै जापानले कोरियालाई नियन्त्रण गर्ने योजना बनायो । यिनोई योशिका नामक जापानी सैनिकको नेतृत्वमा जापानले सन् १८७५ मा कोरियाली समुन्द्र तटमा युद्धपोतहरु पठायो । कोरियालाई यस कुराले निकै दबाब उत्पन्न गरायो ।

जापानसित घुँडा टेकेको कोरियाले लगत्तै जापानसँग सन्धि गरेर ३ वटा व्यापार मार्ग जापानसँग खोल्ने निर्णय गर्यो । जापानले कोरियासँग त्यही गर्यो, सायद युरोपियन देशहरुले कोरियालाई जितेको भए त्यसै गर्थे होला । क्रमशः जापानी व्यापारीहरु कोरिया छिर्न थाले । यसरी वैदेशिक व्यापार र वित्तको केन्द्रबिन्दुका रुपमा कोरियालाई प्रयोग गर्न थालियो । यो कुरा धेरैजना कोरियालीलाई मन परेको थिएन । फलस्वरुप धेरैजना जापानी व्यापारी र कर्मचारीहरु माथि हिंसा र हत्या हुन थाल्यो ।

यसको फलस्वरुप जापानी सरकारलाई आफ्ना हतियार सहितका सेना कोरियाली शहरमा राख्न पाउने अधिकार दिइयो ।
जापानलाई कोरिया सम्पूर्ण रुपले आफूमा गाभ्न अब झन् सहज भएको थियो । कोरियाली शहरमा आफ्ना व्यापारीसँगै हतियारधारी सैनिकसमेत भएपछि अब जापानलाई केवल कोरियाली सरकार र सैनिकमाथि आक्रमण गर्ने झिनो कारणमात्र चाहिएको थियो ।

सन् १८९४ मा जापानले त्यो अवसर पायो, जब कोरियाली विद्रोही विरुद्ध आक्रमण गर्ने नाममा जापानले कोरियाली भूमिमा आफ्ना जनता (व्यापारी)को सुरक्षार्थ हतियार चलाउन पायो । कोरियाली शाषकहरु जापानी रवैया देखेर धेरै डराए अनि चीनलाई मद्धतका लागि बोलाए । चीनको मद्धत मागेका जापानले मन पराएनन् र झन् जापानी शाषकहरु कोरियालीसित रिसाए ।

चीनको अप्रत्यक्ष सहयोगका बाबजुद पनि यो युद्ध जापानले जित्यो र सम्पूर्ण कोरिया उपर जापानको नियन्त्रण कायम भयो । तर जापानका लागि एउटा अफ्ठेरो भने आइपर्यो । ती थिइन् रानी मीन । कोरियाकी यी रानीले सदैव जापानी विरुद्ध खरो कदम चालेकी थिइन् । रानीले जापानसँगको युद्ध हारेपछि कोरियाली स्वाभिमानका खातिर रसियासँग सहयोगको अपिल गरिन् । यो कुरा चाल पाएपछि जापानका जेनरलले कोरियाली रानीको हत्या गर्ने योजना बनाए ।

जापानीहरुले सन् १८९५ को अक्टोबर महिनामा रानी मीनको क्रुरतापूर्वक हत्या गरे । जापानीहरुले उनको मृत शरीरलाई प्रमाण नभेट्ने गरि जलाए । त्यस समयमा रानी मीनको उमेर मात्र ४३ वर्षको थियो ।

त्यसको १० वर्षसम्म पनि कोरिया जापानको सैनिक र आर्थिक खेलमैदान नै भयो । तर जापानको कोरियाली भूमिको अधिपत्य छोटो समयसम्म मात्र रह्यो । दोश्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाले जापानको हिरोसीमा र नागासाकीमा परमाणु बमद्धारा हमला गरेपछि रसिया कोरिया प्रवेश गर्यो ।

जापानले दोश्रो विश्वयुद्ध पछि संयुक्त फौजहरुसँग सर्मपण गरेपछि कोरियाली भूमिमा जापानको अधिपत्य सन् १९४५ मा सकियो ।

त्यसपछि कोरियाली राजनैतिक समिकरणले नयाँरुप लिँदै थियो । तब अमेरिकाले कोरियामाथि सोभियत संघको अधिपत्यको विरुद्धमा कदम लिन थाल्यो ।

यस कदम अनुरुप अमेरिकीहरुले क्रुरतापूर्वक कोरियाको विभाजन गराए, जहाँ रसिया र अमेरिकी अधिपत्यका भूभागहरु दुईवटा चिरा पारेर टुक्राइयो । रसियालाई यो विभाजन मान्य भयो र कोरिया औपचारीक रुपमा दुई टुक्रा भयो । अमेरिकीद्धारा शासित भूभागको राजधानी अमेरिकी बाहुल्यता भएको सियोलमा बनाएर उक्त टुक्रालाई दक्षिण कोरिया भनियो ।

हुन त यो विभाजनपछि पनि कोरियाको एकताका प्रयास नभएका हैनन्, तथापि अमेरिका र रसियाको बढ्दो दुरीका कारण यी दुई टुक्राहरु एक हुन सकेनन् । सन् १९४७ मा संयुक्त राष्ट्र संघमा कोरियाली भूमिमा स्वतन्त्र निर्वाचन गराउने र एकता गराउने प्रस्ताव लिएर अमेरिका गएको थियो ।

यस प्रस्ताव अनुरुप कोरियाली भूमिबाट वैदेशिक सैनिकहरु पनि हटाउने नियम थियो । सोभियत यूनियन अर्थात् रसियाले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्यो र यसविरुद्ध भिटो पनि प्रयोग गर्यो ।
अमेरिकाले आफ्नो आधिपत्य भएको दक्षिणी कोरियामा निर्वाचन गरायो र सिगम्यान रिपब्लिक अफ कोरियाको प्रथम निर्वाचित राष्ट्रपति बन्न पुगे ।

तर यता उत्तर कोरियामा भने निर्वाचन हुन पनि पाएन र नयाँ शासकहरुको उदय भयो । त्यहाँ कम्युनिष्ट नेता किम इल सुङ शक्तिमा आए । अमेरिका दक्षिण कोरियालाई क्रमशः निर्वाचित सरकारको हातमा छाडेर विदा भयो तर उत्तरमा भने कम्युनिष्टहरुको प्रभाव बढ्दै गयो ।

यसरी एउटा कोरिया टुक्रिएर दुइवटा हुनपुग्यो । उत्तरी र दक्षिण कोरिया दुबैको सरकारले आफूलाई कोरियाको आधिकारीक सरकार बताएपनि कोरियाली भूभाग राजनैतिक, आर्थिक र बैचारीकरुपमा नमिल्ने गरि फुटिसकेको थिए । सन् १९५० मा सोभियत युनियनले किम इल सुङलाई दक्षिणमा गएर आक्रमण गरि विजय हुन निर्देशन दिए । यस युद्धमा दक्षिण कोरियाले लगभग हारिसकेको थियो जब संयुक्त राष्ट्र संघले यसलाई उत्तर कोरियाको अवैधानिक कदम ठहर्याएर उत्तर विरुद्ध सैन्य कारवाही अगाडी बढायो ।

त्यसपछि भाग्न भ्याएका उत्तरी सैनिकहरु चीनको बाटो हुँदै घर फर्किए । सन् १९५३ को सन्धि अनुरुप कोरियालाई औपचारीक रुपमै दुई राष्ट्रका रुपमा मान्यता दिइयो । कोरियन युद्धमा करिब २५ लाख मान्छेहरु मारिएको दर्दनाक इतिहास छ ।

सन् १९५३ को सन्धिमा कुनै पनि शान्ति सन्धि या कदम रहेको छैन । प्राविधिक र व्यवहारीक रुपमा कोरियाहरु अझै पनि युद्धमै छन् । उत्तर कोरियाले परमाणु हतियारमा महारथी हासिल गरेको छ र दक्षिणी भूभाग छुटेकोमा अमेरिका लगायत संयुक्त राष्ट्र संघलाई दोष दिँदै आएको छ ।

अहिलेका उत्तरका शासक किम जोङ इल भने किम इल सुङका नाती हुन् । उत्तर कोरियामा जहानियाँ शासन चलिरहेको छ । विभिन्न देश र समाचारले उत्तर कोरियामा त्यहाँका जनताको जीवन यस्तो छ या त्यस्तो छ भनेर अनुमान गरे पनि उत्तरमा वास्तवमा कस्तो छ भन्ने कुरा यर्थाथरुपमा कसैलाई थाहा छैन ।

यी दुबै कोरियाहरु बीचमा डिमीलिटराइज जोन भनिन्छ, नाम अनुसार यस क्षेत्रमा सैनिक हुन नपर्ने हो तथापि विश्वमै सबैभन्दा धेरै हतियार र सैनिक भएको क्षेत्र यसै जोन हो । कुनबेला के हुन्छ कसैलाई थाहा हुँदैन । आशा गरौं उत्तर र दक्षिण कोरियाको भविष्यमा एकता हुनेछ र विश्वमा शान्ति आउनेछ ।