काठमाडौँ। परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गरी अति अत्यावश्यक काम परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ ।
‘युक्रेनमा रहनु भएका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।’
मन्त्रालयले नेपाली राजदूतावास, बर्लिनमा रहेका ३८ बढी नेपाली सम्पर्कमा रहेको र उनीहरु सकुशल रहेको जानकारीसमेत गराएको छ । आवश्यक परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
‘युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको छ’, मन्त्रालयले सूचनामा थप भनेको छ, ‘त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइन्छ।’