काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृक्षरोपणका लागि विनियोजन गरिएको रकम हिनामिना गरेको आरोपमा जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विशेष अदालत काठमाडौंमा आज (मंगलबार) आर्थिक वर्ष ०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वृक्षरोपणका लागि तीन लाख ६० हजार विनियोजन गरे पनि वृक्षारोपण नगरी हिनामिना गरेको पुष्टि हुन आएको भन्दै मुद्दा दायर गरेको हो ।
जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ-११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध सोमबार जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।