• बैशाख २२ २०८३, मंगलवार

एमसिसी राष्ट्रघाती भन्नेले आफ्ना अध्यक्षविरुद्ध नाराबाजी गर्न सक्नुपर्छ : गगन थापा

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीविरुद्ध नाराबाजी गर्नेले आफ्ना अध्यक्षविरुद्ध नाराबाजी गर्न सक्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएपछि बाहीरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले एमसीसी राष्ट्रघाती भन्ने हो भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पार्टीका अध्यक्षविरुद्ध नाराबाजी गर्नसक्नुपर्ने बताए।

“यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिला मान्य भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दावाद भनेर संसद्भित्र नारा लगाउन सक्नुपर्छ । यो राष्ट्रघाती हो भनेर माओवादीका सांसहरूले र माधव नेपाल मुर्दावाद भनेर नेकपा एकीकृत समाजवादीका सांसदहरूले नारा लगाउनुपर्छ,” उनले भने ।

उनले एमसीसीको पक्षमा भए पक्षमा र विपक्षमा भए विपक्षमा उभिन आग्रह गरे । “डबल स्टान्डर्ड छाड्नुपर्छ । पक्षमा हो भने पक्षमा विपक्षमा हो भने विपक्षमा । आधाले विपक्षमा लागेजस्तो गर्ने, आधाले पक्षमा लागेको जस्तो कुरा गर्नेले पनि बन्द गर्नुपर्छ,” उनले भने ।

परिमार्जनका लागि व्याख्यात्मक घोषणा र संकल्प प्रस्तावको विकल्प अघि सारेको उनले बताए । सबै विकल्पमा कुरा गर्न कांग्रेस तयार भएको उनको भनाइ छ ।नभए प्रक्रिया अघि बढ्ने र त्यसबाटै टुंगिने थापाले बताए ।