काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसिसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी एक नेताले एमसिसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अब संसदमा गहन रुपमा एमसिसीबारे छलफल हुने बताए ।
नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।