• बैशाख २२ २०८३, मंगलवार

नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा वाहियात र गलत हो : डा. महत

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा वाहियात र गलत भएको बताएका छन् ।

उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गर्दै एमसीसी हितमा रहेको र यसलाई सबै मिलेर यसलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागुन १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए। एमसीसी संसदबाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको टिप्पणी छ । डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो । उहाँहरू पनि संलग्न हुनुहुन्थ्यो । त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस भन्ने मेरो इच्छा हो । एमाले पनि एमसीसीको पक्षमा नै छ ।’