काठमाडौं । काठमाडौँस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार केवल नेपालकै भएको बताएको छ ।
शनिवार विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले भनेको छ, ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।’
नेपाल र अमेरिकाबिच ७५ वर्ष पुरानो सम्बन्ध रहेको भन्दै अमेरिकाले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई दिइएको उपहार भएको बताउदै यो साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार विकासमा सहयोग पुग्ने र नेपालीहरूको जीवनस्तरमा सुधार हुने पनि दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।