• बैशाख २२ २०८३, मंगलवार

एमसीसी विरुद्ध भोट हाल्न विप्लव नेकपाले सांसदहरुलाई दियो पत्र

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौं । अमेरिकी एमसीसी सम्झौता देशको लागि राष्ट्रघाती रहेको भन्दै यसका विरुद्ध  आन्दोलन भइरहेका बेला विप्लव नेकपा निकट युवा संगठन नेपालले देशभरका  प्रतिनिधि सभा सदस्यहरूलाई एमसीसी सम्झौताको विपक्षमा भोट गर्न सुझाव पत्र बुझाइरहेको छ ।

म्याग्दी जिल्लाका संघीय सांसद भुपेन्द्रबहादुर थापालाई सो संगठनले उनको घरमै गई यस्तो आसयको सुझाव पत्र दिएको समाचार प्राप्त भएको छ ।

उता रुपन्देही जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमालेका नेता घनश्याम भुषाल, कांग्रेसका नेता भरतकुमार शाह, एमालेका नेताद्धय राधा ज्ञवाली, छविलाल विश्वकर्मा, कांग्रसका प्रमोद यादव लगायतलाई सुझाव पत्र बुझाएका छन् ।

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरुलाई मेल गरेर, प्रत्यक्ष भेटेर र घरपरिवारमार्फत् एमसीसी सम्झौताको विपक्षमा भोट गर्न भनि सुझाव पत्र बुझाइ रहेको संगठनका अध्यक्ष पाटन जंगलीले बताएका छन् ।

अमेरिकी साम्राज्यवादी रवैया र एमसीसी सम्झौतामा उल्लेख गरिएका प्रावधानहरुले देशलाई तत्कालीन, मध्यकालिन र दीर्घकालीन असरहरु गर्ने भएकोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो मत जाहेर गर्न सुझाव दिएको उनले बताए ।

सुझाव पत्रमा लेखिएको छ, ‘एमसीसी सम्झौताको विषयमा देशका ठूला दल र तिनका नेताहरुले खेलेको भूमिकाले जनतालाई निराश बनाएको छ । संसदीय व्यवस्थाभित्र रहेका दल र तिनका नेतृत्वहरुले सबै प्रकारका अस्त्रहरु प्रयोग गरेर भएपनि पास गर्नु पर्छ भन्ने कुराले साम्राज्यवादको गुलाम गरेको प्रष्ट हुन्छ ।

यो सम्झौता विगतमा गरिएका राष्ट्रघाती सन्धि सम्झौता भन्दा पनि खतरानाक सम्झौताको रुपमा रहेको छ । यस सम्झौतालाई दुई प्रकारले हेर्नु पर्दछ । पहिलो प्राविधिक कोणबाट र अर्को राजनीतिक तथा कुटनीतिक आयामबाट हेर्नु पर्दछ ।

यस सम्झौताको विषयमा संसदमा बहस गर्नु भन्दा पहिले तपाईंहरुलाई जनताको तर्फबाट अनुरोध गर्दछौँ, कि विगतमा जोडबलका साथ पास गरिएका महाकाली, गण्डक, कोशी, टनकपुर आदि सन्धि सम्झौताहरुले देशलाई के दियो, र दिन बाँकी के छ, यसको जवाफ जनतालाई अनिवार्य दिनु पर्दछ ।

जनताको प्रतिनिधित्व गरेको हैसियतले जवाफ माग्ने पहिलो कर्तव्य तपाईको हुनेछ । तपाईंलाई जनताले जुन विश्वास र भरोसाका साथ आफ्नो अमूल्य मत जाहेर गरेका छन्, त्यसको सहि कदर गर्नु हुनेछ । एमसीसी जस्तो राष्ट्रघाती विषयमा तपाईं दुविधामा पर्नुहुने छैन ।

एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृहयुद्धमा धकेल्नेछ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षेती हुनबाट देशलाई बचाउन तपाईंको महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ । तसर्थ एमसीसी सम्झौताको विपक्षमा यहाँको मत रहनेछ भन्नेमा आमजनता विश्वस्त छन् ।’

सुझाव पत्र बुझाउने कार्यक्रम देशैभरीका सबै जिल्लामा सम्पन्न गरिने युवा संगठन नेपालका अध्यक्ष पाटनले जानकारी दिए ।