काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाएको दावी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी अध्यक्ष घोषणा कार्यक्रममा बोल्दै थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले आफू बाध्य भएर पुरानै पार्टीमा फर्किएको बताए।
उनले भने, ‘मैले यही मञ्चबाट राप्रपालाई फुटाउनुहुन्नँ भन्ने कसम खाएको थिएँ। गीता हामी सनातन धर्मावलम्वीको महान ग्रन्थ हो। पवीत्र ग्रन्थ हो। त्यसलाई छोएर मैले राप्रपा नफुटाउने कसम खाएको थिएँ। मैले राप्रपा फुटाइनँ। बरु अलग भएँ।’
उनले राप्रपामा अहिले पनि आफूहरूप्रति स्नेह सद्भाव र समर्थन राख्ने बहुसंख्यक केन्द्रीय सदस्यहरु भएको बताए।
लाक्पा तामाङले नेतृत्व गर्दै आएको राप्रपा, नेपालको अध्यक्षमा केही दिन पहिले मात्रै थापा चयन भएका हुन्।