काठमाडौं । सत्ता गठबन्धनमा एमसीसी सम्झौता संसद्मा पेस गर्ने, पर्याप्त छलफल चलाउने र आवश्यक परे अमेरिकासँग समय थप गराउन पहल गर्ने प्रस्तावले प्रवेश पाएको छ ।
यसअघि संसद्मा टेबल गर्न नै तयार नभएका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले ल्याएको पछिल्लो प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा भने सकारात्मक भइनसकेको नेताहरूले बताएका छन् ।
गठबन्धनमा नयाँ प्रस्ताव राखेका एक नेताले एमसीसी सम्झौता संसद्मा टेबल गरेपछि संसदीय समिति बनाएर सहज निकास दिन सकिने दाबी गरे ।
‘एमसीसी सम्झौता अमेरिका र नेपालका केही राजनीतिक दलका लागि प्रतिष्ठाको विषय बन्यो । कोही पनि पछाडि हट्ने स्थिति छैन । यसैले गठबन्धन भत्किने र राजनीतिक अस्थिरता पैदा हुने अवस्था देखियो,’ उनले भने, ‘त्यसैले संसद्मा टेबल गरेर पर्याप्त छलफल गरौं भन्ने हाम्रो प्रस्ताव हो ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।