• मंसिर ९ २०८१, आईतवार

एमसीसी प्रकरणले पाँच दलीय गठबन्धनको भविष्य कता मोड्ला ?

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौं । प्रतिनिधि सभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन् । तर, उनको अहिलेसम्मको प्रयास असफल भएको छ ।

पाँच दलीय गठबन्धनको सहयोगबाट बनेको यो सरकारले एमसिसीका विषयमा साझा धारणा बनाउन सकेको छैन ।

पछिल्लोपटक बिहीबार राति र शुक्रबार बिहान बसेको गठबन्धनको बैठकले एमसिसी अघि बढाउने कुरामा एकमत निर्णय गर्न सकेको छैन भने गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार बिहान बस्ने भएको छ ।

एमसिसी टेबुल नभएपछि संसद्को शुक्रबारको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरेर संसद् स्थगित भएको थियो। बैठकमा एमालेले पुरानै अजेन्डामा नाराबाजी जारी राखेको थियो ।

संसद्को अर्को बैठक पनि ८ गते नै बोलाइएको छ । पाँच दलीय गठबन्धन तोडाउने तर एमसिसीमा मतदान नगर्ने नीति एमाले अध्यक्ष केपी ओलीले गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसप्रति सचेत रहन गठबन्धन कै नेताले सुझाव दिएका छन् । त्यसकारण पनि देउवा तत्कालै एमाले अध्यक्ष केपी ओलीको विश्वासमा पर्नसक्ने अवस्था छैनन् ।

गठबन्धनबाट सरकार छाड्ने चेतावनी आउँदासमेत प्रधानमन्त्री देउवाले जबरजस्ती संसद्मा एमसिसी टेबुल गर्ने आँट गरेका छैनन् ।

सरकार फागुन ४ गतेको संसद् बैठकमा एमसिसी टेबुल गर्नबाट पछि मात्र हटेन, शुक्रबारको बैठकमा पनि एमसिसी अघि बढाउन सकेन ।

बिहीबार राति गठबन्धनको बैठक सकेर एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा पुगेका प्रधानमन्त्री देउवाले त्यहाँबाट पनि विश्वस्त आधार नपाएपछि शुक्रबारको संसद्को बैठकमा पनि एमसिसी टेबुल गर्न नसकेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।