काठमाडौँ। शहरी विकास मन्त्री रामकुमारी झाक्रीले अमेरिकी सहयोग परियोजना एमसिसी आन्तरिक राजनीतिलाई किचलो बनाउन ल्याइएको बताएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री झाक्रीले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘एमसिसी नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरू हुन्। यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरूरी छ।’
यस्तै उनले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन्। । राजनीतिक प्रणालीको रक्षा गर्न चाहेर वा नचाहेर यो गठबन्धन बनेको उनले बताइन्।
‘नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज हो। एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित गर्यौं। त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो,’ उनले भनिन्।
यस्तै आफूले प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको धारणा भन्दा बाहिर जान नमिल्ने पनि बताइन्। आफू सरकारमै रहेको हुँदा प्रधानमन्त्री देउवाको धारणा भन्दा बाहिर नजाने उनले बताइन्।