काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन् ।
सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका नेताहरू एमसिसीलाई संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन् ।
गठबन्धनबाट बाहिर पनि निस्कन नचाहने र सरकारलाई सदनमा एमसिसी पेस गर्न पनि नदिने नीति सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लिएपछि सरकारको नेतृत्व गरेको कांग्रेस र प्रधानमन्त्री देउवा रुष्ट छन् । कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसिसी सदनमा पेस गर्न गर्न अधिकार दिइसकेको छ ।
बालकोटमा देउवाले ओलीलाई संसद्मा जारी विरोध रोक्न आग्रह गर्दै एमसिसी पारितमा सघाउन आग्रह गरेका थिए । ‘संसद् खोल्नुस्, अवरोध नगर्नुस्, मिलेर एमसिसी पास गरौं भन्ने प्रधानमन्त्री देउवाको प्रस्ताव थियो’, ओलीनिकट स्रोतले भन्यो ।
तर ओलीले यी विषयमा आफ्नो पार्टीको पूर्ववत् अडान कायमै रहेको बताएका थिए । ओलीले सभामुखले मार्गप्रशस्त गर्नुपर्ने वा एमालेले १४ जना सांसदलाई गरेको कारबाहीलाई सदर गर्नुपर्ने अडान दोहोर्याएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसिसीलाई संशोधन नगरी संसद्मा पेस गर्न नसकिने भन्दै पन्छिन खोजेपछि कांग्रेसले एमालेका नेताहरूसँग भेटघाट बढाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।