काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन ।
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को कारण एमसीसी टेबल हुनबाट रोकिएको हो ।
माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो ।
सत्ता गठबन्धनको बिहीबार बस्ने बैठकले फागुन ६ गते बस्ने संसद् बैठकमा सरकारले पुनः एमसीसी टेबल गर्ने सम्बन्धमा निर्णय गर्ने बताइएको छ ।
बुधबारको संसद् बैठक एमाले सांसदहरूको नाराबाजी र होहल्लासँगै फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले फागुन ६ शुक्रबारको संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्ने बताए ।
उनका अनुसार सत्ता गठबन्धनबीच दुई दिन सहमतिको प्रयास गर्ने र आउँदो बैठकमा टेबल गर्ने सहमति भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।