काठमाडौं । दुई वर्षअघिदेखि संसद्मा टेबल भएर बसेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) १६ फागुनसम्म अनुमोदनका लागि पुनः एकपटक अमेरिकाले आग्रह गरेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनाअघि एमसीसी अनुमोदनका लागि प्रतिबद्धता जनाएअनुसार अमेरिकाले सो डेटलाइन सम्झाएको हो ।
एमसीसी मुख्यालयलाई दुवै नेताले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका थिए । तर, अहिले समयसीमा नजिक आउँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलटाल गरेपछि अमेरिकाले प्रतिबद्धतापत्र सम्झाएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दुई नेताले गरेको डेडलाइन पुनः सम्झाएका छन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा विदेश मन्त्रालयका प्रवक्ताले नेपालको संसद्बाट एमसीसी अनुमोदन ढिलाइ हुनुमा चीनको हात हुन सक्ने बताएका छन् ।
एमसीसी नेपाल सरकारको छनोट गरेको र अमेरिकासँगको आफ्नो प्रतिबद्धतामा परित्याग गरे कूटनीतिक द्विपक्षीय सम्बन्धमा असर पर्नेमा विदेश मन्त्रालयका प्रवक्ताले जोड दिएका छन् ।
यदि बाहिरी प्रभाव र भ्रष्टाचारले निर्णयलाई अनुमोदन नगर्ने हो भने सो विषयलाई अमेरिकाले गम्भीर रूपमा लिने बताएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।