काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा विदेशी संघसंस्था तथा सरकारबाट लिइने सहयोगमा कडाइ गरिनुपर्ने बताए ।यद्यपि विदेशी सहयोग लिँदै लिन्न भनेर बढी क्रान्तिकारी हुनपनि नहुने उनको तर्क छ ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयक प्रतिनिधिसभामा वर्षौंदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले प्रतिनिधिसभामा यसरी विधेयकहरू रोकिएको सम्बन्धमा सम्बन्धित मन्त्रालयले प्रतिनिधिसभालाई घच्घचाउनुपर्ने बताए ।
आगामी एक वर्ष चुनावी वर्ष हुने भएकाले प्रतिनिधिसभाले विधेयक पारित गर्न नसक्ने हो कि भन्ने आशंका व्यक्त गरे। छलफलका क्रममा विधेयक सार्वजनिक हुँदा सरोकारवालाले सुझाव दिनसक्ने र विधेयक सुधारिएर आउने उनको भनाइ छ ।