काठमाडौं । नेपाली कांग्रेसले एमसिसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा लामो समयदेखि एमसिसीलाई रोकेर राख्दा राम्रो सन्देश नजाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गर्नुपर्ने कांग्रेसको ठहर छ ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठकको बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी नगरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर बैठक बोलाउन आग्रह गरेका हुन्।
भोलि बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसिसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय गर्नेछ ।
त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसिसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको नेताहरुले बताएका छन् ।