काठमाडौँ। नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगको प्रस्तावबारे आवश्यक निर्णय लिन पार्टी अध्यक्षसहित नेतृत्वलाई जिम्मा दिएको छ ।
नेकपा एमाले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सङ्घीय संसद् भवन बानेश्वरमा बसेको बैठकमा सत्तारुढ दलका ९८ जना सांसदले हिजो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्ध संसद्मा दर्ता गराएको महाअभियोगको प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बैकपछि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकले एमसिसीका सम्बन्धमा सत्तापक्षको एकमतको धारणा आएपछि मात्र पार्टीले दृष्टिकोण बनाउने निर्णय गरेको पनि सचेतक भट्टराईले बताए।
उनले सत्तारुढ दलका पछिल्ला कदमले निर्वाचनलाई टार्न खोजेको आरोप लगाउँदै त्यसका विरुद्ध एमालेले सडक र सदनमा विरोध जारी राख्ने बताए ।