काठमाडौँ । व्यवसायिक गीतहरुको भिडमा हालै एउटा गीत र त्यसको भिडियो सार्वजनिक भएको छ, ‘बाँचे पो जिन्दगी’ । यो गीतको शिर्षकले नै वास्तवमा धेरै कुरा बोलेको जस्तो आभास हुन्छ । बाँचे पो जिन्दगी । नेपाली जनजीवनमा जीवित रहदाको अवस्थालाई नै जिन्दगी भनेर बुझ्ने गरेको पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली वृहद शब्दकोषका अनुसार जिन्दगी भनेको जन्मदेखि मृत्युसम्मको समय, बाँचुन्जेलको समय, जीवनकाल, जीवन, जिन्दगानीका साथै प्राणी अथवा मानिस जन्मेर नमरुञ्जेलको बाँच्ने पद्धति वा प्रणाली भनेर भनिएको छ । यस अर्थमा विस्तार गर्दै शब्दकोष भन्छ, ‘प्राणीको प्राण रहेसम्मको शरीर वा चोला नै जिन्दगी हो ।’ हेर्दा र भोग्दा पनि शब्दकोषले भने जस्तै लाग्छ जिन्दगी । अथवा यस्तै भोगाइलाई नै शब्दकोषले परिभाषित गरिएको पो हो कि ? जिन्दगीको यस्तै परिभाषा समेटेर बाँचे पो जिन्दगी बोलको गीत आएको देखिन्छ ।
हाम्रो समाजमा बुढापाकाहरु भन्ने गर्छन्, एक रात मात्रै बाँच्न पाए आकासका नौलाख तारा देखिन्छन् भनेर । सबै मानिसको नाम समाजमा अमर पनि हुँदैन र सबैको नाम ढुङ्गामा लेखिंदैन पनि । मरेर गएपछि त सबै सकिगयो नि । बाँचुन्जेल नै जिन्दगी हुने हो । यस्तै कुरालाई सो गीतमा व्यक्त गर्ने काम भएको छ । गीतको स्थायीले भन्छ, ‘आजरात बाचे नौलाख तारा आखाशमा देखिन्छ, मरिमा गए हाम्रो नाउ भन कुन ढुङ्गा लेखिन्छ, ए साथी बाँचे पो जिन्दगी’ ।
मानिसको जन्म मृत्यु प्रकृतिको विधि विधान नै हो, धन सम्पती भन्ने कुरा त आउँछन् र जान्छन् , ती त हातका मैला नै हुन् । यस्तो भावलाई गीतको पहिलो अन्तराको शब्दमा यसरी लेखिएको छ, ‘जन्म र मृत्यु यहि त हो चोला प्रकृति विधान, हातका मैला सुनका थैला के अर्थ ती धन।’ अहिलेको समयमा कोहि कोहि मानिस धन सम्पती कमाउने प्रतिस्पर्धामा पनि लागेका हुन्छन् , अनि कोहि कोहि मरेपछि स्वर्ग गइन्छ भनेर विभिन्न दुःखकष्टमा रहेका समेत पाइन्छ । तर खासगरी मानिसको साँचो कमाइ भनेको जिउँदोमा जन्ती र मर्दाका मलामी नै त हो । मरेपछि मानिसको आत्मा कहाँ जान्छ, के गर्छ भन्ने कसलाई पो के थाहा हुन्छ र ? उसको भौतिक शरीर त घाटमा लिएर जलाइन्छ । त्यसकारण मानिसले मरेपछिको स्वर्गको कल्पना भन्दा ज्यूँदै हुँदा रमाउनु वैज्ञानिक देखिन्छ ।यस्तो भावनालाई सो गीतको शब्दमा यसरी व्यक्त गरिएको छ, ‘जिउँदोको जन्ती मर्दाको मलाम यहि त हो कमाउने, मरेसी स्वर्ग चाहिंदैन मलाई ज्यूँदैमा रमाउने ।’
यसबाहेक गीतका विभिन्न अन्तराहरुमा उमेरमा यो बित्यो त्यो बित्यो भन्दा भन्दै जिन्दगी रितिएको कुरा, भेटघाट भएको समयमा सबैसँग हाँसेर बोल्दा नै संसार जितिने कुरा उल्लेख गरिएको छ । मानिसले जन्म लिंदा खालिहात र नाङ्गै जन्मिएको मात्रै होइन मरेर जाँदा खेरि पनि खालिहात र नाङ्गै नै जाने विषय बाँचे पो जिन्दगी बोलको गीतमा व्यक्त गरिएकको छ । देशको प्रकृतिको सुन्दरताको व्याख्या गर्दै हाम्रा डाँफे, मयुर धेरै सुन्दर भएको अनि हाम्रो हिमाल शान्त भएको कुरा जनाउँदै गीतका शब्दमा जीवनमा सन्तुष्टि भएर आनन्द पूर्वक रहनु भन्दा ठुलो चीज केहि नभएको समेत बताइएको छ ।
मानिस सामाजिक प्राणी हो । बाँचुञ्जेल समाजमा बस्नुपर्छ । मानिसहरुसँग मित्रता गर्नुपर्छ । मित्रता केवल देखाउनको लागि मात्रै नभएर अमर हुने गरेर गर्नुपर्ने भन्दै मरेर जाने मान्छेको चोलामा मान्छे मरेपनि मित्रता चाहिँ कहिल्यै नमरोस भन्दै लेखिएको छ, ‘मित्रता हाम्रो सम्झना हाम्रो बाचुञ्जेल अमर होस्, मरेर जान्छ मान्छेको चोला सम्झना नमरोस् ।’ जिन्दगीका विभिन्न आयामहरु पार गर्दै जाँदा ज्युदो रहँदा गुमनाम राख्न चाहनेहरु मानिसको मृत्यु भएपछि मात्रै कठै भनेर चर्चा गर्ने गरेको विषय गीतका शब्दमा उल्लेख गरिएको छ । गीतमा जल्नेहरु कहिल्यै नरुने बरु जलाउनेहरु नै रुने गरेको प्रसंग समेत व्यक्त गरिएको छ । दैवको लीला मानिसको चोला आखिर पृथ्वीमा केहि दिनको पाहुना नै हो भन्दै भोकालाई खाना दिनु र नाङ्गालाई एकसरो लाउन प्रदान गर्नु नै जीवनमा सबै भन्दा उत्तम काम हुने विषय व्यक्त गरिएको छ ।
युवा गायक तथा गीतकार अमृत भारतीले सो गीतको शब्द सिर्जना गरेका छन् भने ती शब्दहरुलाई चर्चित गाएक तथा संगीतकार रामकुमार नेपालीले संगीत दिएका छन् । संजय श्रीपालले संगीत संयोजन गरेको सो गीतमा राम कुमार नेपाली, संजय श्रीपाल र पबिन्द्र सुनारले सुमधुर आवाजमा गीत गाएका छन् । भोलुम अन कम्पनीले गीतको अडियो भिडियो निर्माण गरेको छ भने गीतको भिडियोमा चर्चित कलाकार प्रकाश सपुत, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, सालिक भण्डारी, सन्तोष खनाल र धिरेन्द्र खड्काले जीवन्त अभिनय गरेका छन् । क्रान्ति केसीले गीतको भिडियोलाई निर्देशन गरेका छन् भने केसीले नै भिडियो सम्पादन कार्य गरेका छन् । उत्सव दाहालको क्यामराले गीतको भिडियोका दृश्यहरुलाई क्यामरामा कैद गरेको छ भने डिकोन पिक्चरले गीतको भिडियोलाई पोष्ट प्रोडक्सन गरेको छ ।
एउटा व्यस्त युवा व्यापारीले पैसा पैसा भनेर बैंस जोवान सकेको मात्रै होइन पैसाकै पछि लागेर रमाइलो गर्न भुलेको विषयलाई गीतको भिडियोमा देखाउने प्रयास गरिएको छ । युवावयमै रगतमा अवुर्द रोग लागेपछि जीवन रहुन्जेल अलिकति भएपनि रमाइलो गरौँ भनेर सो युवा व्यापारीले सम्झेर साथीभाईसँग बाँचे पो जिन्दगी भन्दै रमाएको दृश्य भिडियोमा देखाएको छ ।
भोलुम अन युटुव च्यानलबाट सार्वजनिक गरिएको तीनदिनमा उक्त गीतको भिडियोलाई (यो सामग्री तयार पारुञ्जेल) चार लाख २१ हजार भन्दा बढी पटक हेरिसकिएको छ भने भिडियो हेर्नेहरुमध्ये २२ सय ७ जनाले भिडियोलाई अत्यधिक मन परेको र आफ्नो मन छोएको भनेर प्रशंसा गरेका छन् ।
पढौं गीतका शब्द :
आजरात बाँचे नौलाख तारा आकाशमा देखिन्छ
मरिमा गय हाम्रो नाउ भन कुन ढुङ्गा लेखिन्छ
ए साथी बाँचे पो जिन्दगी
१) जन्म र मृत्यु यहि त हो चोला प्रकृति विधान
हातका मैला सुनका थैला के अर्थ ती धन
ए साथी बाँचे पो जिन्दगी
२) जिउँदोको जन्ती मर्दाको मलाम यहि त हो कमाउने
मरेसी स्वर्ग चाहिंदैन मलाई ज्युँदैमा रमाउने ।
ए साथी बाँचे पो जिन्दगी
३) यो बित्यो भन्दा उ बित्यो भन्दा जिन्दगी रितिन्च
भेट हुँदा सबलाई हासेर बोल संसार जितिन्च ।
ए साथी बाँचे पो जिन्दगी
४) नगर भेदभाव सबैले आफ्नै कर्मैले खानु छु
खालीहात आयौं, खालीहात जान्छौं मरि के लानु छ ।
ए साथी बाँचे पो जिन्दगी
५) कति शान्त छन् कति सुन्दर छन, डाँफे र मजुर
सन्तुष्टि भन्दा ठुलो चीज यहाँ के छ र हजुर ।
ए साथी बाँचे पो जिन्दगी
६) मित्रता हाम्रो सम्झना हाम्रो बाचुञ्जेल अमर होस
मरेर जान्छ मान्छेको चोला सम्झना नमरोस ।
ए साथी बाँचे पो जिन्दगी
७) जिउँदोमा गुमनाम मरेसी आखिर चर्चा चलाउने हुन्
रुँदैनन कैले जल्नेहरु रुनेत जलाउने हुन् ।
ए साथी बाँचे पो जिन्दगी
८) भोकालाई खान नाङ्गालाई दिनु एकसरो लाउन हो
दैवको लीला हामी मनुष्य धर्तिको पाहुना हो ।
ए साथी बाँचे पो जिन्दगी
हेरौं भिडियो ⇓