• बैशाख २१ २०८३, सोमबार

एमसिसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरे : ईश्वर पोखरेल

माघ २९ २०७८, शनिबार

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले जनतालाई अलमल्याउने गरी एमसिसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागिपरेको बताएका हुन्।

शनिबार काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले प्रचण्डले एमसिसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याईं गरिरहेको आरोप लगाए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए। उनले जनताको बीचमा फट्याईं कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे।

पोखरेलले सार्वजनिक सम्पत्ति अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।