• मंसिर ९ २०८१, आईतवार

सचिवालयबीच बाझाबाझ : ओली गैरजिम्मेवार, प्रचण्ड तीनजिब्रे प्राणी !

माघ २९ २०७८, शनिबार

काठमाडौं ।  अमेरिकी विदेशमन्त्री लुले बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन गरेर एमसिसी अनुमोदनबारे जिज्ञासा राखेका थिए ।

ओली र दाहालबीच भएको टेलिफोन संवादका बारेमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

रिजालले लेखेका छन्, ‘एमसिसीका सम्बन्धमा विदेशीले सोधुन् वा स्वदेशीले, नेकपा एमालेको धारणा स्पष्ट छ ।’ उनले ‘एमसिसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा अध्यक्ष ओलीले स्पष्ट शब्दमा जवाफ दिएको बताएका छन् ।

ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि पनि ४–५ महिनामा पारित गर्छौं भनेर कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस् । एमालेले त निर्णय गरिहाल्छ ।’

रिजालले ओली–दाहाल संवादका बारेमा सामाजिक सञ्जालमा जानकारी गराएपछि दाहालको सचिवालयले ओलीले भ्रम सिर्जना गर्न खोजेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

दाहालका स्वकीय सचिव रमेश मल्लले ओलीसँगको संवादमा दाहालले एमसिसी परियोजना अहिले सामान्य आर्थिक सहयोगको परियोजनामात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेकाले यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं भन्ने प्रस्ताव गरेको बताएका छन् । ‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं ।

देश अहिले निर्वाचनमा होमिएको र एमसिसीमा दलहरूबीच तथा राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचनपछि लैजाने कुरा गरौं,’ दाहालले ओलीसँग गरेको कुराकानीबारे मल्लले लेखेका छन् ।

तर अध्यक्ष ओलीले यसलाई गम्भीरतापूर्वक नलिएको बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस् तर गैरसांसद रहँदासम्म संसद् चल्न दिन्नौं भनेर गैरजिम्मेवार जवाफ दिएको मल्लले लेखेका छन् ।

दाहालको सचिवालयले दुई नेताबीच भएको संवादबारे जानकारी गराउँदै कुनै किसिमको भ्रममा नपर्न आग्रह गरेलगत्तै ओलीका प्रेस संयोजक रामशरण बजागाईंले दाहालको सचिवालयले गैरजिम्मेवार वक्तव्य निकालेको भन्दै प्रतिवाद गरेका छन् ।

उनले पुष्पकमल दाहालको कानसम्म पुगोस् भन्दै लेखेका छन्, ‘एमसिसी सम्झौता आफैंले गर्ने, मुख्यालयलाई एमसिसी पास गर्ने कबुलनामासहित पत्र आफैंले लेख्ने, जनता र पार्टीसँग पत्र लेखेको छैन भनेर ढाँट्ने र सडकमा उराल्ने ।

अर्को पार्टीको अध्यक्षलाई टेलिफोन सम्पर्क गरेर ‘एमसीसी पास गर्न राष्ट्रिय सहमति जुटाऊँ, मलाई गाह्रो पर्‍यो भन्ने । सरकारमा हुनुहुन्छ, बहुमत छ, संसद्मा लैजानुस् भन्दा यसलाई चाहिँ गैरजिम्मेवार भनेर वक्तव्य निकाल्ने ?’ उनले अगाडि लेखेका छन्, ‘दुई होइन, तीनजिब्रे प्राणी भएर निस्कनुभयो उहाँ (दाहाल) । ‘राष्ट्रिय सहमति’ जुटेमा राष्ट्रघात पनि गर्ने ? राष्ट्रघात हुने भए किन सम्झौता गरेको ? किन पास गर्छु भनेर तमसुक गरेको ?’

सर्वोच्च अदालतको निर्णयबाट तत्कालीन नेकपा विघटन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र दाहालबीच संवादहीनताको अवस्था थियो ।

यसबीचमा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन दाहालले ओलीलाई टेलिफोन सम्पर्क गरेका थिए । तर राजनीतिक मुद्दामा भने दुई नेताबीच संवाद हुन सकेको थिएन ।

बिहीबार संवादहीनता तोडिए पनि उनीहरूबीचको छलफलका विषयलाई लिएर सचिवालयका सदस्यहरू आरोप प्रत्यारोपमा उत्रिएका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।