काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णयार्थ पेश गरेको एमसिसी सम्झौता सभामुखले संसदमा रोक्न नमिल्ने बताएका छन् ।
शुक्रबार स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले सरकारले निर्णयार्थ पेश गरेको एमसिसी रोक्छु भन्न नमिल्ने बताएका हुन् ।
उनले भने, ‘सभामुखले सरकारले निर्णयार्थ पेश गरेको एमसिसीलाई पेश नगरेर रोक्छु भन्न मिल्दैन । यो गठबन्धनको निरीहता हो । सत्ता गठबन्धन चुइक्क बोल्न सक्दैन । संसदले के गर्छ आफ्नो ठाउँमा होला तर, निर्णयार्थ पेश गर्नुपर्यो नि । सभामुखले अनाधिकृत क्रियाकलाप गरे ।’
ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी मुख्यालयलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरीत भएको पनि उल्लेख गरे ।
‘प्रधानमन्त्रीले एमसिसीलाई पत्र लेख्ने कुरा प्रोटोकल नै मिल्दैन । यो एउटा शाखा वा संस्था त होला । पार्टी होइन । अध्यक्षको हैसियतमा लेख्ने हो भने त रिपब्लिकन पार्टीलाई लेख्नुपर्थ्यो होला । गठबन्धनभित्र पनि दुई जना अध्यक्षले पत्र लेख्नुभएको छ । यो कत्तिको सान्दर्भिक हो ?’ उनले प्रश्न गरे, जनतालाई पास गर्नु हुँदैन भन्छन्, तर पत्र नै एमसीसीलाई पठाएका छन् जसरी पनि एमसिसी पास गर्छौ भनेर । गठबन्धनको न्यूनतम साझा कार्यक्रममा एमसिसीप्रति दृष्टिकोण नै छैन । फरक फरक अभिव्यक्ति दिएका छन् । गैरजिम्मेबार चरित्र देखाएका छन् ।’