काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीको विषयमा निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
बिहीबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीका विषयमा निर्णय गर्न आग्रह गरेका हुन् । जवाफमा अध्यक्ष ओलीले एमसिसी पारित गर्ने जिम्मेवारी सत्ता गठबन्धनको भएको बताएका छन् ।
उनले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसिसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन् ।
‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस, नेकपा (एमाले) त निर्णय गरिहाल्छ।’ अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले भने।