• मंसिर ९ २०८१, आईतवार

राष्ट्रिय सहमति नभए संसदमा प्रतिपक्षी एमालेसहितलाई प्रयोग गरी एमसीसी अनुमोदन गर्ने

माघ २८ २०७८, शुक्रबार

काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसका नेताहरूले अमेरिकी अनुदान मिलेनियम च्यालेञ्ज (एमसिसी) सकेसम्म राष्ट्रिय सहमति कायम गरेर संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई सुझाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरूले लामो प्रक्रिया पार गरेर भएको एमसिसी सम्झौतालाई थप गिजोलिन नदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

बैठकमा नेताहरूले राष्ट्रिय सहमति निर्माण हुन नसके सत्ता गठबन्धनभित्र सहमति गरी एमसिसीलाई अघि बढाउन प्रधानमन्त्री देउवालाई सुझाएका छन् ।

त्यो पनि सम्भव नभए संसद्मा एमसिसी सम्झौता टेबल गरेर प्रमुख प्रतिपक्षी दलसहितको सहयोगमा अनुमोदन गर्नुपर्ने धारणा नेताहरूले राखेका छन् ।

‘एमसिसीका विषयमा पार्टीले यसअघि नै निर्णय गरिसकेको छ,’ नेताहरूको भनाइ उद्धृत गर्दै सहमहामन्त्री बद्री पाण्डेले भने, ‘सकेसम्म राष्ट्रिय सहमति निर्माणका लागि प्रयास गरौं, नभए गठबन्धनभित्र सहमति जुटाउँ, त्यो पनि भएन भने जोजो सहमत हुन्छन् उनीहरूलाई साथ लिएर एमसिसी अघि बढाउनुपर्छ ।’

बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एमसिसीका विषयमा कार्यसम्पादन समितिलाई जानकारी गराउन पूर्वअर्थमन्त्री रामशरण महतलाई आग्रह गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।