काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अन्ततः पार्टी परित्याग गरेका छन् ।
मंसिर तेस्रो साता सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएलगत्तै त्यसको दोष पूर्वराजा र निर्मल निवासलाई दिँदै आएका थापाले आफूले सारेका माग सुनुवाइ नभएको भन्दै मंगलबार राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु, पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ गृहजिल्ला मकवानपुर पुगेर उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
उनले विज्ञप्तिमार्फत अघि भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु, पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहनेछु ।
राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’
लामो समय राप्रपाको नेतृत्वमा रहँदै आएका र मंसिर तेस्रो साता सम्पन्न एकता महाधिवेशनमा आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १ सय ९९ मत अन्तरले पराजित भएका थापाको पार्टीबाट बहिर्गमन कुनै आकस्मिक निर्णय होइन ।
२३ महिनामै तोेडियो ‘गीता’को कसम
पटकपटक टुटफुटको राजनीतिबाट गुज्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि २८ फागुन २०७६ एउटा विशेष दिन थियो ।
त्यस दिन कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा संयुक्त, प्रकाशचन्द्र लोहनी नेतृत्वको अर्को समूहबीच पार्टी एकीकरण भएको थियो ।
समयसमयमा पार्टीमा भएका टुटफुटबाट हैरान भएका राप्रपा कार्यकर्ताहरूमा पार्टी एकीकरणले उत्साह थपेको थियो ।
तर, त्यो उत्साह लामो समयसम्म टिक्न सकेन । पार्टी एकीकरणपछि राणा, थापा र लोहनीले संयुक्त रूपमा पार्टीको नेतृत्व गरेका थिए ।
मंसिर दोस्रो साता भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएको साढे दुई महिनापछि थापाले राप्रपाबाट अलग हुने घोषणा गरेपछि पार्टी कार्यकर्ता पुनः निराश बनेका छन् ।
अर्को दल घोषणा गर्ने उनको तयारीले पार्टी कार्यकर्ता थप निराश बनेका छन् । थापाले गृहजिल्ला मकवानपुर पुगेर मंगलबार राप्रपा छाडेको घोषणा गरेका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।