काठमाडौं । स्थानीय चुनाव वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोग त्यसको तयारीमा लागेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी चुनावको मैदानमा भिड्न थालिसक्यौं । अब करिब ९३ दिन बाँकी छ । हामीले समयमै चुनाव गर्न सक्छौं ।’
मंगलबारदेखि नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिने प्रवक्ता पौडेल बताउँछन् । ‘आजैबाट अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ पौडेल भन्छन्, ‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरु गर्छौं ।’
आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।
भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनलगायत व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण मागेको जनाइएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २४७ मा यस संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग माग गरेको छ ।
स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७ सय ५३ वटै स्थानीय तहले माघभित्र विवरण आयोगमा पठाउन भनेको हो ।
आयोगले आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।