स्पेस ट्रान्सपोर्टेसन नामको चिनियाँ कम्पनीले बेइजिङबाट केवल ६० मिनेटमा अमेरिकाको न्यूयोर्क पुग्न सक्ने हाइपरसोनिक विमानको योजना पेश गरेको छ । यो विमानले १ घण्टामा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्न सक्ने जनाइएको छ । यसलाई ‘रकेट पिथ विंग्स’ नाम दिइएको छ ।
चिनियाँ कम्पनीले अर्को वर्ष यो विमानको परीक्षण सुरु गर्न सक्नेछ । वैज्ञानिकहरुले २०२४ सम्म विमान तयार हुने अपेक्षा गरेका छन् । स्पेस डटकमको रिपोर्ट अनुसार सो कम्पनीले एक भिडियो जारी गरेको छ, जसमा विमानले आफ्ना पखेटा डिट्याच गरेको देखिएको छ । यो विमान रकेटको माध्यमले उड्नेछ । स्पेस ट्रान्सपोर्टेसन कम्पनीको दावी अनुसार हाइपरसोनिक विमानबाट चीनको राजधानी बेइजिङ र अमेरिकाको न्यूयोर्क बीचको दूरी केवल एक घण्टाको हुनेछ ।
सो कम्पनीले चिनियाँ मिडियासँग कुरा गर्दै पखेटासहितको रकेट बनाउन लागेको बताएको छ । यसको माध्यमबाट हाइस्पिड ट्रान्सपोर्टेसन सम्भव हुनेछ । कम्पनीका अनुसार यो रकेटको खर्च स्याटेलाइट लैजाने रकेटको तुलनामा कम छ । साथमा यो परम्परागत उडानभन्दा धेरै तीब्र हुनेछ ।
चीनको हाइटेक योजनामा पहिलेदेखि नै हाइपरसोनिक विमान बनाउने लक्ष्य छ । चीनले हाइपरसोनिक एयरक्राफ्ट बनाउनको लागि ठूलो पैसा खर्च गरिरहेको छ । गत वर्ष चीनले यस्तो एयरक्राफ्टको योजना पेश गरेको थियो जसमा १० जना बसेर १ घण्टामा पृथ्वीको जुनसुकै ठाउँमा जान सक्छन् ।
चीनले ९ हजार ६५६ किलोमिटर प्रतिघण्टा गतिको परमाणु मिसाइल इन्जिन पनि तयार गरिरहेको छ । रिपोर्टका अनुसार यो त्यही डिजाइनमा आधारित छ जसमा पहिले नासाले पनि काम गरिरहेको थियो तर धेरै लागतका कारण नासाले योजना रद्द गरेको थियो । हिमाली पत्रिकाबाट ।