• मंसिर ९ २०८१, आईतवार

चुनावको मिति घोषणा गर्न आलटाल, प्रधानमन्त्री नियुक्ति र मनोनयनमा व्यस्त

माघ २२ २०७८, शनिबार

काठमाडौं  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय लिन सकेको छैन ।

दोस्रोपटक प्रस्तावित मितिमा निर्वाचन हुने हो भने अब १०३ दिनमात्रै बाँकी छ । स्थानीय निर्वाचन सार्न कसरत गरेको सरकारले मिति तोक्न ढिलाइ गरिरहेको हो ।

सरकारसँगै छलफल गरेर आयोगले स्थानीय तह निर्वाचन गर्न जेठ ४ को मिति प्रस्ताव गरेको थियो । हरेक बिहीबार र सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने गरे पनि यो साता बिहीबार बैठक भएन ।

आयोगले ७५३ तहमा एकैपटक निर्वाचन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै मन्त्रिपरिषद्मा निर्णयका लागि आयोगले गृह मन्त्रालयमार्फत राय पनि पठाइसकेको छ ।

जेठ ४ मा निर्वाचन गर्न कानुन संशोधन आवश्यक पनि नपर्ने आयोगले जनाएको छ । ‘हामीले प्रस्ताव गरेको मितिमा निर्वाचन गर्न सरकार सहमत भएपछि प्रधानमन्त्रीज्यूले तयारीमा लाग्न आग्रहसमेत गरिसक्नुभएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘उहाँले नै जेठ ४ मा निर्वाचन गर्ने भनि सक्नु भएको छ, आउँदो मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने अपेक्षा छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।