काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग एमसिसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् । दाहाल र नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने बताएपछि प्रधानमन्त्री देउवाले बुधबार बिहानको भेटमा एमसिसीमा सुधार गर्नुपर्ने बुँदाहरु उपलब्ध गराउन भनेका हुन् ।
बालुवाटारको बैठकपछि सिन्धुपाल्चोकका नेता/ कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री देउवा पनि गठबन्धनको पक्षमा रहेको र गठबन्धनको सहमतिमै एमसिसी पास गराउने कार्यमा प्रयास भइरहेको बताए ।
‘एमसिसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ अध्यक्ष नेपालले भने।
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन टुट्ने भयो कि भन्ने अनावश्यक भ्रम र आशंका फैलिएको भन्दै त्यसबारे ढुक्क हुन आश्वासन समेत दिए । ‘गठबन्धन टुट्दैन,’ उनले भने, हामी चुनावमा पनि गठबन्धनबाटै अघि बढ्छौं ।’