• बैशाख १८ २०८२, बिहीबार

संविधानको मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्छ : नेता सिंह

माघ १८ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसारनै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्। निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रियामा पुर्‍याएर निर्वाचन को मिति तय गर्नु पर्ने बताएका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’

नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए । ‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले त्यो संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो । ‘त्यसैले यो सरकारले संविधानको मर्म र भावनाबमोजिम काम गर्नुपर्ने हुन्छ । कानुन संशोधन गर्नेभन्दा पनि अहिलेको संविधान र ऐनमा जे व्यवस्था छ, त्यहीअनुसार सरकारले काम गरेको राम्रो हुन्छ ।’