काठमाडौं । ६ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीभित्र ६ महिना पनि नबित्दै विवाद सुरु भएको छ ।
पार्टीभित्र महन्थ ठाकुर र राजेन्द्र महतोपक्षबीच विवाद बढ्दै गएको छ ।
तर लोसपाका केही शीर्ष नेताहरू भने ठाकुर र महतोबीचको विवादमा नपरी पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय र संगठित बनाउने अभियान सुरु गरेका छन् ।
यस अभियानमा पूर्व राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष तथा राष्ट्रियसभाका पूर्वसदस्य बिर्खेशचन्द्र लाल, पुरानो राजपाका उपाध्यक्ष डा. विजय सिंहलगायत नेताहरूले अगुवाइ गरिरहेका छन् ।
उनीहरूले तमलोपाको राजनीतिक अवधारणापत्र, घोषणापत्र र विधानसमेत तयार गरेका छन् ।
निर्वाचन आयोगमा कसैले तमलोपा दर्ता गर्न नसकोस भनी बिर्खेशचन्द्र लालले आफूनिकट एक व्यक्ति रविशंकरलाल कर्णलाई आयोगमा तमलोपा दर्ता गर्न लगाएका छन् ।
लालले अब आफैं अगाडि आएर यस अभियानको अगुवाइ गर्ने तयारी गरेका छन् । एक दुई दिनभित्रै उनले यस अभियानको औपचारिक घोषणा गर्दैछन् । यो समाचार नागरिक दैनिकमा छ ।