• बैशाख १८ २०८२, बिहीबार

प्रदेश -१ सरकारले मन्त्रालय फुटाउने

माघ १७ २०७८, सोमबार

काठमाडौँ। प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालयको संख्या बढ्ने भएको हो।

मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन।

सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय संख्या थप गर्ने निर्णय गरेको छ।

यो नियमावली संशोधनसँगै प्रदेशमा ५ वटा मन्त्रालय थप हुने भएका छन्। हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय रहेको प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय हुनेछन्।

थपिएका मन्त्रालय रहने स्थानको पनि टुंगो लागिसकेको बताइएको छ। सरकारले मन्त्रालय फुटाएर संख्या बढाउने तयारी गरेको भन्दै आलोचना हुँदै आएको छ।

पाँच दलीय गठबन्धन सरकारमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय भएको हो। सरकारले मन्त्रालयहरूमा काम खापिएको दाबी गर्दै मन्त्रालय फुटाएर काम द्रुत तुल्याउने जिकीर गर्दै आएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीको प्रशासनिक संरचना बनाउन जग्गा खोजी गर्न एक समितिसमेत गठन गरेको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको संयोजकत्वमा गठित समितिमा विराटनगर महानगर, इटहरी उपमहानगर, दुहबी र सुन्दरहरैंचा नगर, ग्रामथान, कटहरी र बुढीगंगा गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरु सदस्य छन्।

बैठकले प्रदेशको नामकरणका लागि संसदभित्र र बाहिरका दलहरुसँग छलफल समन्वय र सहजीकरण गर्न सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको छ।