काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन मिति सोमबारभित्र घोषणा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ । पाँचदलीय सत्ता गठबन्धनले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन पर सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै एमालेको मोर्चा संगठनले यस्तो ‘अल्टिमेटम’ दिएको हो ।
मोर्चा संगठन संयन्त्रको शनिबार बसेको बैठकले सरकारले निर्वाचन मिति तोक्न आनाकानी गरेको भन्दै त्यसविरुद्ध देशव्यापी आन्दोलनमा जाने निर्णय पनि गरेको छ । ‘हामी अब आन्दोलनमा लाग्यौं ।
सरकारले भनेको बुझोस् । जनताले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्नु छ । जनादेशमा नजाने षड्यन्त्र हुँदा आन्दोलनमा जानुपर्छ । अब सिठी फुकेर लाग्यौं’, मोर्चा संगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले भने ।
उनका अनुसार मोर्चा संगठनको बैठकले २२ वटै जनवर्गीय संगठनलाई आन्दोलनमा उत्रिन निर्देशन दिएको छ । ढकालले शनिबारदेखि नै आन्दोलन सुरु भैसकेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचन समयमै गराउन सरकारलाई दबाब दिन देशव्यापी जनपरिचालन गर्न निर्देशन दिएलगत्तै मोर्चा संगठन संयन्त्रले यस्तो निर्णय गरेको हो ।
पार्टी मोर्चा संगठनका प्रमुख, विभिन्न विभागका प्रमुख तथा इन्चार्ज र जनसंगठनका अध्यक्षलाई ओलीले बालकोट निवासमा बोलाएर सरकारमाथि दबाब सिर्जना गर्न निर्देशन दिएका थिए ।
पार्टी जनसंगठन समन्वय प्रमुख ढकालका अनुसार स्थानीय तहको निर्वाचन निर्धारित समयमा गर्न दबाब दिने विषयमा छलफल गर्न मोर्चा संगठन संयन्त्रको बैठक भक्तपुरस्थित एक पार्टी प्यालेसमा बसेको हो । यो समाचार नागरिक दैनिकमा छ ।