काठमाढौं । नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनको बैठकमा २०७९ जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान र अपराह्न गरी दुईपटक बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचन जेठभित्र सम्पन्न गर्ने सहमति भएको हो ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचन मिति तोक्न सुझाएको छ ।
वर्तमान सत्ता गठबन्धन र सरकारलाई निर्वाचन विरोधी साबित गर्ने तत्व सक्रिय भएको निष्कर्ष निकाल्दै बैठकमा जेठभित्रै स्थानीय निर्वाचन गराउने सहमति भएको हो ।
‘जेठभित्र स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सहमति सत्ता गठबन्धनमा रहेका दलबीच भएको छ,’ बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘निर्वाचन आयोगसँग आवश्यक परामर्श गरेर सरकारले छिट्टै मिति घोषणा गर्नेछ ।’
संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन आपसमा बाझिएको ठहर गर्दै गठबन्धनको बैठकले संविधानसँग बाझिएका सबै ऐनकानुन संशोधन गर्न पनि सरकारलाई सुझाएको छ ।
कानुनविद्सँगसमेत शनिबार छलफलमा जुटेका गठबन्धनका नेताले संविधानभन्दा ऐनकानुन ठुलो नहुने भन्दै संविधानसँग प्रतिकूल रहेका ऐनका सबै प्रावधान संशोधन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई सुझाएको कांग्रेस नेता पौडेलले बताए ।
‘स्थानीय तहको निर्वाचनका विषयमा संविधानसँग बाझिएका सबै कानुन संशोधन गरेर संविधानअनुकूल बनाउनुपर्छ । त्यस्ता सबै कानुन संशोधन गर्न पनि बैठकले सरकारलाई आग्रह गरेको छ,’ पौडेलले भने ।
आगामी जेठभित्र स्थानीय चुनाव सम्पन्न गर्नेगरी आवश्यक तयारी थाल्न गठबन्धन बैठकले सरकारलाई सुझाव दिएको जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘त्यसका लागि आवश्यक कानुन संशोधनसहितका प्रक्रिया अघि बढाउन सरकारलाई संयन्त्रले पनि सुझाव दिनेछ ।’
निर्वाचन आयोगले यसअघि वैशाखमै निर्वाचन गर्न मिति प्रस्ताव गरेको छ । सरकारले निर्वाचन मिति तोक्नुअघि आयोगसँग आवश्यक परामर्श गर्ने जानकारी पनि मन्त्री कार्कीले दिए ।
‘निर्वाचन मिति तोक्न निर्वाचन आयोगसँग छलफल गर्न गठबन्धन दलको बैठकले सुझाव दिएको छ,’ मन्त्री कार्कीले भने, ‘जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दिशामा गठबन्धनका दलहरू अब अघि बढेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।