काठमाडौं । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भइरहेको छ ।
भक्तपुर बालकोट बस्दै आएका ओली बालकोटमै बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।
गत ८ माघमा उनको कोराना संक्रमित भएको रिपोर्ट आएको थियो । तर, अध्यक्ष ओली संक्रमणमुक्त नहुँदै पार्टी भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भए । सो कार्यक्रममा सयौंको सहभागिता रहेको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक रूपमा ओलीको आलोचना भइरहेको भए पनि उनको सचिवालयले कोरोना भाइरस आइसोलेसनको मापदण्ड उल्लंघन नगरेको दाबी गरेको छ ।
यस्तो छ कानुन
२०७४ साल भदौमा संसद्बाट पारित भएर त्यसको एक वर्षपछि कार्यान्वयनमा आएको अपराधसंहिताको दफा १०६ मा सरकारी निकायले सरुवा रोगको सम्बन्धमा जारी गरेको आदेश वा नियम उल्लंघन गरेमा ६ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
यस्तो आदेश उल्लंघन गरेका कारण कसैको ज्यान गएमा ऐनको दफा १०४ बमोजिम सजाय हुने उल्लेख छ ।
सो दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम १० वर्षसम्म कैद तथा १ लाख रुपैयाँ जरिमाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कैद तथा ३० हजार जरिमाना गर्न सकिने उल्लेख छ ।