चीनमा खाना खेर फाल्नेहरुलाई कारवाही गरिन्छ । यसका लागि चिनियाँ विधायकहरुले खाना खेर फाल्ने व्यक्ति तथा रेष्टुरेन्टमाथि कारवाही गर्ने गरी नयाँ ऐन पारित गरेका थिए । यो ऐनले खानाको खाएर वा खाएको नाटक गरेर इन्टरनेटमा प्रदर्शन गर्ने लगायत सबै खालका खाना खेर फाल्नेमाथि कारवाही गर्ने लक्ष्य राखेको छ । यो ऐनले साधन स्रोतको रक्षा गर्ने र जिम्मेवारीपूर्वक उपभोग गर्ने कुरालाई भने प्रवर्द्धन गर्ने उदेश्य राखेको छ ।
चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी कमिटीबाट अनुमोदित सो ऐनले भ्लगर(इन्टरनेटमा छोटा र चाखलाग्दा भिडियो बनाएर राख्ने व्यक्तिहरू) तथा सोसल मिडियाका प्रभावशाली व्यक्तिहरुलाई अति धेरै खाना खाएको वा खाएको नाटक गरेर भिडियो हाल्नमा प्रतिबन्ध लगाएको छ । अब यदि कसैले खाना धेरै खाएको दर्शाउने भिडियो बनाएमा उसले करीब १ लाख युआन अर्थात् नेपाली साढे अठार लाख जति जरिवाना तिर्नुपर्ने हुन्छ ।
कतिपय चिनियाँ कन्टेन्ट निर्माताले इन्टरनेटमा यति धेरै खाना वा जाँडरक्सी खाएर त्यसको लाइभ गर्ने गरेको र त्यसवापत उत्साही दर्शकले उनीहरूलाई सैयौँ डलर डोनेसन गर्ने गरेको बताइन्छ । त्यस्तो प्रक्ष्यक्ष प्रसारणलाई ‘मकब्याङ सो’ भन्ने गरिन्छ । अघिल्लो महिना चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले खाना फाल्ने कुरालाई प्रवर्द्धन गरेको भन्दै भिडियो सेयर गर्ने इन्टरनेट प्लेटफर्महरुलाई थुप्राका थुप्रा खाना खाने वा खाएको झैँ देखाउने त्यस्ता भिडियोहरू इन्टरनेटबाट हटाउन आदेश दिएको थियो ।
यो कानूनले ग्राहकहरूले धेरै खाना फालेको अवस्थामा रेस्टुरेण्ट र भोजनालयहरुलाई थप पैसा असुल्ने अनुमति पनि दिन्छ । यो कानुनले खाना खेर फाल्ने धोकाधडीपूर्ण मार्केटिङबाट पनि जनसाधारणलाई सुरक्षित बनाउने लक्ष्य राखेको छ । अब उनीहरुका विज्ञापनले व्यक्तिलाई चाहिने भन्दा बढी खाना अर्डर गर्न प्रेरित गरेको अवस्थामा खाना ओसार्ने ‘भेन्डर’हरुलाई अधिकारीहरूले कारवाही गर्न सक्नेछन् । खाना उपलब्ध गराउने रेष्टुरेन्ट र खाना ओसार्नेहरूले आवश्यक भन्दा बढी खाना उपलब्ध गराउने प्रपन्च गरेको भेटिएमा उनीहरूलाई ५० हजार युआन अर्थात् नेपाली करीब ९ लाख जरिवाना गरिनेछ ।
यो ऐन सबै खालका कार्यालय तथा स्कुल–क्याम्पसका क्याफेटेरियामा पनि लागू हुनेछ । त्यसका साथै खाना डेलिभरी गर्ने एप्लिकेसनका हकमा पनि यो ऐन प्रभावकारी हुनेछ । खाना खेर नफाल्नका लागि उनीहरुका लागि निर्देशिकाहरु बनाइएका छन् र, अब सुपरमार्केटहरूले पनि मिति गुज्रन थालेका सामानहरुलाई बल्क्मा (थुप्रोमा)बेच्नु पर्नेछ ।
यो प्रगतिशील ऐनका बारेमा टिप्पणी गर्दै चिनियाँ मिडियाले बताएका छन् कि, यो ऐन ‘तर्कपूर्ण र स्वस्थ्य उपभोग’ गर्ने बानी विकासका लागि तयार गरिएको हो । यो ऐनले चीनले अहिले खाद्य संकट झेलेको कुरा संकेत नगरेको बरु खाद्य सुरक्षाको सुनिश्चित गर्न र चीनको जनशंख्या बढ्दै गर्दा सप्लाई चेनलाई स्थिर राख्न मद्धत गर्ने चिनियाँ मिडियाले बताएका छन् । यस कार्यलाई चीनले खाना बचाउने तथा वस्तुको सहि सदुपयोग गर्ने संस्कृतिको विकास गर्न लागेको बताएको छ ।