• बैशाख १८ २०८२, बिहीबार

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी

माघ १३ २०७८, बिहीबार

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी परेको छ। संविधानसभा सदस्य रञ्जित कर्णले गौरस्थित जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत उजुरी पठाएका हुन्।

मन्त्री यादवले माघ ५ गते गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन्। सोही विषयलाई लिएर कर्णले प्रहरीमा जाहेरी दिएका हुन्।

उजुरीमा बहालवाला मन्त्रीको अभिव्यक्तिका कारण पछिल्लो समय हिंसात्मक गतिविधि बढेको उल्लेख गरिएको छ। मन्त्री रेणु यादवविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाही गर्न माग गरिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को उपदफा ४ बमोजिम पाँच वर्षसम्म कैद सजाय र पचास हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

उजुरीमा यादवको अभिव्यक्तिका कारण राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुगेको तथा वर्गीय, जातीय तथा साम्प्रदायिकताका आधारमा घृणा तथा द्वेष फैलाउन दुरुत्साहित गरेका आरोप लगाइएको छ।

कर्णले बिहीबार नै सोही विषयलाई लिएर सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापनपत्र पठाएको बताइएको छ ।

मन्त्री यादवले भने हालै विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर खबरहरु आएको दाबी गरेकी थिइन्।