• बैशाख १८ २०८२, बिहीबार

अब को बन्ला राष्ट्रियसभा अध्यक्ष ? सत्ता गठबन्धनको ‘तालु’माथि बामदेव !

माघ १३ २०७८, बिहीबार

काठमाडौं । एमालेको पकडमा रहेको राष्ट्रिय सभाबाट एमालेलाई बढारेर दुइतिहाई बहुमत पुर्‍याउने पाँचदलीय सत्ता गठबन्धनको सोच र प्रयास अन्ततः वामदेव गौतमको साथ र हातमा पुगेको छ । वामदेवको तालुमा फेरि पनि आलु फल्ने आशंका र संभावनाले ठाउँ पाएको छ ।

चारवर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका राष्ट्रिय सभाका १९जना सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले सातै प्रदेशमा एमालेलाई ‘क्लिन स्वीप’ गर्ने योजना बनाएको थियो । तर प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी हुन पुगेपछि यो योजनाले ठूलै धक्का खान पुग्यो ।

सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का हेमराज राईलाई शेर्पाले हराइदिए ३८४ मत अन्तरले । जसपा राईले ४ हजार ३६८ मत ल्याउँदा एमाले शेर्पाले ४ हजार ७५२ मतभार प्राप्त गरे । यसमा आर्थिक चलखेल र अन्तरघात दुवै देखियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल एमालेका अध्यक्षसहित १७ जना सांसद छन् । त्यसमाथि लोसपाका १ जना र अन्य एक गरी जम्मा १९ जना प्रतिपक्षीका हुन्छन् । बाँकी ४० जना भए राष्ट्रिय सभामा दुईतिहाई पुग्छ । तर सत्ता गठबन्धनका लागि ३९ जना आफ्नै भए पनि दुईतिहाईको संख्या वा ४० जना पुर्‍याउन गठबन्धनलाई १ जना मात्र आवश्यक पर्छ ।

गौतम राष्ट्रिय सभामा मनोनित सांसद हुन् । अर्कोतिर उनले एमालेबाट राजीनामा दिइसकेका छन् । उनले गठबन्धनलाई साथ दिए भने पनि दल त्याग गरेको कारणले सांसद पदबाट हात धुनु पर्दैन । त्यसैले संयोगवस उनी गठबन्धनको तालुमाथि उभिन पुगेका छन् ।

उता सत्ता गठबन्धनले अविश्वासको प्रस्ताव लिएरै भए पनि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई हटाउने योजनामा रहेको छ । यो बेलामा राष्ट्रिय सभाका अध्यक्षमा वामदेव गौतमको संभावना अवश्यंभावी भएर आएको राजनीतिक वृत्तमा चर्चा छ ।