• बैशाख १७ २०८२, बुधबार

भारतीय दूतावासले मनायो ७३औं गणतन्त्र दिवस

माघ १२ २०७८, बुधबार

काठमाडौँ। काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार भारतको ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको हो। सोही कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ हजार रुपैयाँसहित कम्बल वितरण गरेर सम्मान गरेका थिए ।

मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘स्वतन्त्रताको अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

उक्त महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरूको आयोजना गरिनेछ । नेपालमा उक्त महोत्सव मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरू यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने पनि दूतावासले जनाएको छ।