• मंसिर १२ २०८१, बुधबार

साहित्यकारको समूहले गर्यो पञ्चकन्याको अवलोकन भ्रमण

माघ ५ २०७८, बुधबार

नुवाकोट ।
साहित्यिक मासिक पत्रिका संसाकको आयोजनामा साहित्यकार, कवि/लेखक तथा विभिन्न विशेषज्ञहरूको एक टोलीले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको विभिन्न धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थानहरूको अवलोकन तथा परामर्श भ्रमण गरेको छ ।

साहित्यिक भ्रमण टोलीले सर्वप्रथम पञ्चकन्या गाउँपालिका वडा नं २ को कविलास, पाठकथोकमा रहेको धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थलको रूपमा रहेको कपिलेश्वर (नाट्येश्वर) महादेवको दर्शन तथा अवलोकन गरेको थियो । महादेवको दर्शन, अवलोकन पपछि टोलीले त्यस वरपरका पाटीपौवा, मठमन्दिर र पूरातात्विक वस्तुहरूको अध्ययन, अवलोकन पनि गरेको थियो ।

प्राकृतिक सम्पदाहरूको दृश्यावलोकन गर्दै अगाडि बढेको टोलीले स्थानीयसँग छलफल पनि गरेको थियो ।
पञ्चकन्याको भद्रुटारस्थित घलेभञ्ज्याङ्गमा पुगेर भ्रमण टोलीले त्यस आसपासका ऐतिहासिक तथा मनोरम प्राकृतिक स्थल र दृश्यहरूको अवलोकन गर्नुका साथै भञ्ज्याङ्गको केहीमाथि रहेको मुक्तेश्वर महादेव, कञ्चकन्या र सप्तकन्या देवीको दर्शन गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष रमेश लामा (तेजबहादुर तामाङ्ग)को निमन्त्रणामा त्यस स्थानमा पुगेको टोलीले तत्पश्चात् गाउँपालिकाको कार्यालय रहेको लाँकुरी भञ्ज्याङ्गबाट करिब ५.५ कि.मि. पूर्वतर्फ घ्याङ्स्वाँरामा निर्माणाधीन मनोरञ्जन पार्कको पनि भ्रमण गरेको थियो ।

बन्दै गरेको उक्त घ्याङ्स्वाँरा पार्कमा अतिथिहरुलाई स्वागत गर्दै अध्यक्ष तामाङ्गले करिब १५० रोपनी जग्गामा निर्माणाधीन पार्कमा खेलकुद मैदान, वनभोज स्थल, मनोरञ्जन पार्क, मन्दिर, पाहुना घर, जीप लाइन आदि रहने बताउँदै दुई वर्षभित्र निर्माण सम्पन्न गरिसकिने लक्ष्य रहेको उक्त योजनामा करिब ५० करोड लाग्ने अनुमान रहेको पनि बताउनुभयो ।

‘हाल प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको रकमले केही काम भइरहेको र बाँकी रकम सबै जोहो नै गर्नुपर्ने छ’, अध्यक्ष तामाङ्गले भन्नुभयो, ‘मेरा काम सबै पारदर्शी र जवाफदेही छन्, आँटेको छु, कसो सम्पन्न नहोला र ? दुई वर्षभित्र सम्पन्न गर्न म दृढताका साथ लागेको छु, ।’ पदमा रहेपनि नरहेपनि यो योजना सम्पन्न गर्न र गाउँको विकासमा आपूm सधैं नै लागिरहने कुरा उहाँले बताउनुभयो ।

उहाँले सो अवसरमा जिल्लाकै नमुना गाउँपालिका भवन निर्माण भैरहेको बताउँदै गाउँमा रहेका कच्ची, ग्राभेल र पक्की आदि सडकहरूका बारे पनि जाकारी गराउनुभएको थियो । अध्यक्ष तामाङ्गले गाउँपालिकाले कृषिको विकास र आधुनिकीकरणलाई उच्च प्राथमिकता दिएको बताउँदै बाख्रा पालन, भैँसी पालन व्यवसाय उद्योगकै रूपमा सञ्चालन हुन लागेको पनि जानकारी गराउनु भयो । यसको साथै पर्यटन प्रवद्र्धनको लागि पनि एक दुइवटा राम्रा होटेलहरू खोल्ने प्रकृयामा रहेको अध्यक्ष तामाङ्गको भनाइ थियो ।

गाउँको दुई किनाराबाट दुई ठूला नदीहरू बगेका छन्, तर यहाँ कति ठाउँमा सिँचाइ तथा खाने पानीकै अभाव भैरहेकोले त्यो अभावलाई पूरा गर्ने ठूला सिँचाइका योजना पनि निर्माणको प्रकृयामा रहेको पनि उहाँले बताउनु भयो । एक प्रसङ्गमा उहाँले पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाकै कम बेरुजु भएको पालिका हो, जसको बेरुजु एक प्रतिशतको हाराहारीमा मात्र रहेको बताउनुभयो । साहित्यको क्षेत्रमा  आफूलाई त्यति ज्ञान नभएको र त्यसको बारेमा कसैले सल्लाह दिने र सम्झाउने काम नगरेकोले आफ्नो कार्यकालमा त्यति केही गर्न नसकिए पनि अब भने केही काम गर्ने बताउनुभयो ।

अध्यक्षसँगको अन्तरक्रियामा साहित्यकार विद्वान डा.शैलेन्दुप्रकाश नेपालले गाउँपालिकाभित्र संस्कृति, साहित्य र कलाका क्षेत्रमा भए, गरेका कामका बारेमा प्रश्नहरू राख्नुभएको थियो भने उद्योग, पर्यटन र विकासका बारेमा लेखक/पत्रकार तथा उद्योगी रत्नप्रसाद श्रेष्ठ अनामणिले आफ्ना जिज्ञासाहरू राख्नुभएको थियो । त्यसैगरी लेखापरीक्षण विज्ञ डा.दामोदर पुडासैनी किशोरले विकास, सुशासन, आर्थिक पारदर्शिता र बेरुजुका विभिन्न पक्षमा प्रश्नहरू गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालयको सहसचिव डा.राधिका थपलियाले स्वास्थ्यका क्षेत्रमा गाउँपालिकामा भए, गरेका कामहरू, गाउँमा कोभिडको अवस्था आदिका बारेमा अध्यक्ष समक्ष प्रश्नहरू राख्नुभएको थियो । साहित्यकार/पत्रकार उमेश पाण्डेले संयोजन तथा सहजिकरण गर्नुभएको भ्रमण तथा विमर्श कार्यक्रममा साहित्यकार/पत्रकार मणि लोहनी, कवि/गायिका रेणु अधिकारी मौनताले पनि अध्यक्षसमक्ष विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

एकदिवसीय अवलोकन तथा परामर्श भ्रमणमा साहित्यकार, कवि/लेखक तथा विभिन्न विषयका विशेषज्ञहरू डा.शैलेन्दुप्रकाश नेपाल, डा.दामोदर पुडासैनी किशोर, डा. राधिका थपलिया, कवि/पत्रकार रत्नप्रसाद श्रेष्ठ अनामणि, साहित्यकार÷पत्रकार उमेश पाण्डे, कवि/गायिका रेणु अधिकारी मौनता, साहित्यकार/पत्रकार मणि लोहनी, शिक्षिका सविता पाण्डे र चालक शङ्कर जिसी लगायतको सहभागिता रहेको थियो ।