काठमाडौं । कोरोना संक्रमणदर बढेसँगै सर्वोच्च अदालतले आफ्नो सेवा खुम्चाउने निर्णय गरेको छ । सर्वोच्च अदालतमा बसेको पूर्ण (सबै न्यायाधीश सम्मिलित) बैठकले बुधबारदेखि यही माघ १८ सम्म साबिकका काममा हेरफेरको निर्णय गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रार, कर्मचारीलगायत ३१ जनामा संक्रमण देखिएको प्रशासनले जनाएको छ । संक्रमणका कारण अदालतमा सबै जनशक्ति उपस्थित हुन नसक्दा सेवाग्राहीलाई मर्का पर्ने भएकाले सेवा खुम्चाउनुपरेको प्रशासनको भनाइ छ ।
बैठकले बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दामा भने नियमित सुनुवाइ गर्ने निर्णय गरेको छ । बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्तै जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य, सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित रुपमा सुनुवाइ गर्ने निर्णय भएको छ ।
गत वर्ष पनि सर्वोच्चले कोरोना संक्रमणका कारण लकडाउन हुँदा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन मात्रै हेर्ने निर्णय गरेको थियो ।
यसपटक भने सर्वोच्चले मुद्दा फिर्ता, तामेली, मिलापत्रसम्बन्धी काम कारबाही नियमित रुपमा रहनेगरी निर्णय गरेको छ । त्यसैगरी थुनामा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनउपर पनि सुनुवाइ हुनेछ ।
थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउन बाँकी रहेका मुद्दाको सुनुवाइ गर्ने, सरकारका तर्फबाट दर्ता भएका प्रत्यार्थी झिकाउने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ गर्ने निर्णय भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।