• मंसिर ९ २०८१, आईतवार

जसपाको कार्यकारी अधिकार अध्यक्ष उपेन्द्रले हत्याएपछि बाबुराम असन्तुष्ट, पार्टी विभाजनको सम्मुखमा

माघ २ २०७८, आईतवार

काठमाडौं । विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद देखिएको छ । जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ ।

भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग गरेका छन् ।

जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ । ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई ल्याउनुपर्ने उनी पक्षधर नेताहरूको माग छ ।

जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ । यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन् ।

सबै कार्यकारी अधिकार यादवसँग रहेकाले भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन् । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा कार्यकारिणी अध्यक्ष यादवले एकलौटी निर्णय गरेको भट्टराई पक्षधर नेताहरूको आरोप छ । यो समाचार नागरिक दैनिकमा छ ।