• मंसिर ९ २०८१, आईतवार

कोरोना संक्रमण भएसँगै स्वास्थ्यकर्मी आइसोलेसनमा, सेवा प्रवाहमा सकस

पुष ३० २०७८, शुक्रबार

काठमाडौं । स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठूलो जनशक्ति संक्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ ।

टिचिङ अस्पताल महाराजगन्जमा एक सातामा ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेका अनुसार स्वास्थ्यकर्मी संक्रमित हुँदा शल्यक्रिया लगायतका सेवा प्रवाहमा समस्या छ । डा. काफ्लेले भने, ‘बिरामीको परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो ।

त्यसपछि स्वास्थ्यकर्र्मीको परीक्षण गर्दा उहाँहरूमा पनि संक्रमणको पुष्टि भयो ।’ शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सकलगायतका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।

निजामती कर्मचारी अस्पतालमा चिकित्सक सहित ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले  चिकित्सक, नर्स र ल्याबमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा सर्वसाधारणको उपचारमा चुनौती थपिएको बताए ।

वीर अस्पतालमा तीन दिनको अवधिमा १५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।  भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार, नर्स र ल्याबका काम गर्ने ७ जनामा संक्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बल बलम्बुका डा। प्रवीन नेपालका अनुसार पछिल्लो एक सातामा चारजना संक्रमित भएका छन् । डा नेपालले भने, ‘अस्पतालमा खटिएका नर्सिङ र प्यारामेडिक्स गरी चारजनामा संक्रमण पुष्टि भएको छ ।

सबै जना आइसोलेसनमा बसिरहेका छन् ।’ वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत केही स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगीता कौशल मिश्राले उपत्यकाका अस्पतालमा स्वास्थ्यकर्मी नै संक्रमित हुँदा चुनौती थपिएको बताइन् ।

‘सर्वसाधारणमा संक्रमणको बढ्दो दरसँगै  स्वास्थ्यकर्मीहरू पनि संक्रमित भइरहेका छन्,’ डा. मिश्राले भनिन्, ‘स्वास्थ्य जनशक्ति संक्रमित हुँदा उपचारमा चुनौती थपिएकोे छ ।’ यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।