काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ ।
किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो ।
तत्कालीन गृहसचिव प्रेमकुमार राईले अनुसन्धानमा संलग्न अधिकारीलाई सरकारी कागज किर्ते गर्नेविरुद्ध मात्रै मुद्दा चलाउन सिफारिस गर्न भनेका थिए । तर किर्तेमा धेरैको संलग्नता देखाएर कारबाहीको सिफारिस गर्दा मुद्दा कमजोर बन्न पुगेको हो ।
‘सरकारी वकिलको कार्यालय काठमाडौंललाई बुझाएको प्रतिवेदन फिर्ता हुनु र सरकारी जग्गा फिर्ता गर्न गरिएको सूचना कार्यान्वयन नहुनुजस्ता विषयले ललितानिवासको जग्गा हिनामिनासम्बन्धी मुद्दा कमजोर पारियो भन्ने हाम्रो ठम्याइ हो’, गृह मन्त्रालयका एक उच्च कर्मचारीले भने । यो समाचार नागरिक दैनिकमा छ ।