काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्स दाहाललाई बधाई दिएका छन् । विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्षस्थानमा पुगेका दाहाललाई ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, “विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियर तर्फको विश्व वरियतामा शीर्ष स्थान हासिल गर्न सफल हुनुभएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु ।”
विश्व ब्याडमिन्टन महासंघ (विडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन्।
यसअघि प्रिन्स तेस्रो स्थानमा थिए । कोरोना महामारीका कारण सन् २०२१ मा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा विडब्लुएफले एक वर्षपछि वरीयता परिवर्तन गरेको हो ।
प्रिन्स पहिलो पटक शीर्ष वरीयतामा पुगेका हुन्। यसअघि ११ औँ, सातौँ हुँदै तेस्रोमा आएका थिए।
नयाँ वरियतामा प्रिन्सको १० हजार चार सय अंक छ ।