२७ पौष । हालको नेपालको जे जति भूगोल छ त्यो कसले बनायो ? यो भूगोल कसैले बनाएको हो कि पहिला भएका राज्यलाई एउटै बनाएको हो भन्नेमा ठूलो बहस छ ।
नेपालको एकीकरणकर्ता मानिएका गोरखाका राजा पृथ्वीनारायण शाहका बारेमा पनि निकै चर्चा हुँदै आएको छ । आज पुस २७ भएकोले पनि यसको चर्चा हुनु स्वभाविकै हो । आज कतै उनको तस्विरमा माला लगाइएको छ भने धेरैले उनलाई अत्याचारी राजाको रुपमा पनि विश्लेषण गरिरहेका छन् । यसरी पृथ्वीनारायण शाहका समर्थक पनि छन् भने विरोधीहरु पनि छन् ।
तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बनेको इतिहास छ । साना साना राज्यहरुको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डौ उपत्यकामा रहेका तीनवटा राज्य सहित धेरै राज्यलाई एउटैमा गाभेका थिए । यही अभियानकै क्रममा ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा उनको मृत्यु भएको इतिहास छ ।
तर उनको मृत्युको कारणबारे इतिहासकारहरु एकमत छैनन् । बडामहाराजधिराज पद पाएका पृथ्वीनारायणको मृत्यबारे कस्ता धारणा रहिआएका छन् त ? यसका बारेमा प्रामाणिक तथ्यहरूले के बताउँछन् ?
राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले वि.सं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेका थिए । नुवाकोट जितेर काठमाडौं उपत्यका प्रवेश गर्ने बाटो खोलेका उनले क्रमशः काठमाण्डौ खाल्डोमा रहेका मल्ल राजाहरुद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पनि पाए । तर त्यसका लागि उनले ठूलो मूल्य चुकाउनु परेको इतिहास पनि रहेको छ ।
त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए । उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले वि.सं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे (मर्स्याङ्दी) पारि रहेका चौबीसे राज्यहरुमा आक्रमण गरे । केही समयमा उनले ती राज्यमाथि विजय पनि प्राप्त गरे ।
तर चौबीसे राज्यको संयुक्त सेनासँग टिक्न सकेनन्न् । केयरसिंह बस्न्यातजस्ता भारदार मारिए र वंशराज पाँडेजस्ता भारदार शत्रुराज्यद्वारा समातिए । गोर्खाली सेना आफ्नो राज्यमा फर्कन बाध्य भयो । चौबीसे राज्यसँग पराजय खेपेपछि उनले पूर्वतिर एकीकरण अभियान थाले ।
पृथ्वीनारायणको सेना सजिलै अहिले नेपालको सीमा रहेको मेची नदीपारि परैसम्म पुग्यो । यो सफलताले उत्साहित बनेका उनी फेरि पश्चिमतर्फ लागे । सोहीक्रममा नुवाकोट पुगेका बेला अकस्मात् बिरामी परेको ऐतिहासिक लिखतहरुले देखाउँछन् । उनको मृत्यु वि.सं १८३१ माघ १ गते भएको थियो ।
उनको मृत्युबारे पर्वतका राजाले भारदारलाई लेखेको पत्रमा ‘गोर्खाका राजा हामी माथि दागा राखी दगा गर्न नुवाकोट आयाथ्या भगवत इच्छा त आफैँ हेलिया’ अर्थात् ‘गोर्खाका राजा हामीलाई सिध्याउन आएका थिए तर भगवानको इच्छाले आफैँ सिध्यिए’ भन्ने उल्लेख छ ।
पृथ्वीनारायण शाह’ नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार ‘पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते ।
तर कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन ।
विसं १९९२ मा भारतको दार्जीलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको ‘पृथ्वीनारायण शाह’ नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार ‘पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते’ भन्ने विवरण दिइएको छ ।
विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ‘पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो’ भन्ने उल्लेख छ ।